काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार बनेको आरोप लगाउँदै सरकारविरुद्ध जनता सडकमा उत्रिने तयारीमा रहेको दाबी गरेका छन्।
नेकपा गण्डकी प्रदेश सम्पर्क समितिले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पुनले आगामी दशैँ, तिहार र छठ पर्वपछि सरकारको कार्यशैलीविरुद्ध देशव्यापी ठूलो जनविद्रोह हुने बताए। उनले उक्त विद्रोहको कुशल नेतृत्व र व्यवस्थापनका लागि अहिल्यैदेखि संगठनात्मक रूपमा तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिए।
‘विगत ३५ वर्षमा केही भएन’ भन्दै भ्रामक प्रचार गरेर शक्तिमा पुगेकाहरूले संकटका बेला जनतालाई कुनै राहत दिन नसकेको उनको तर्क थियो। प्राकृतिक प्रकोपपछिको उद्धार तथा राहत कार्यमा सरकार पूर्ण रूपमा असफल भएको उल्लेख गर्दै पुनले भने, “३५ वर्षमा के भयो भनेर प्रश्न गर्नेहरूकै सरकार छ, तर आज रसुवा बाढीका पीडितले राहत पाएका छैनन्। जनताको चुल्होमा ग्यास छैन, किसानले समयमा मल पाएका छैनन् र महँगीले आकाश छोएको छ। यस्तो संकटमा सरकारको उपस्थिति कतै देखिएको छैन।”
सरकारको नालायकी, महँगी र गैरजिम्मेवारपनका कारण आम जनतामा तीव्र आक्रोश र निराशा छाएको बताउँदै पुनले चाडपर्वपछि जनता स्वतःस्फूर्त रूपमा सडकमा आउने दाबी गरे। साथै, वर्तमान सरकारका गलत नीति र रवैयाका कारण मुलुकको राष्ट्रियता र स्वाधीनता समेत कमजोर बन्दै गएको भन्दै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि जनता विद्रोहमा उत्रिने समय आइसकेको उनको भनाइ थियो।































