बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा मेनरोडस्थित एक होटलमा आफ्नै साथीको हत्या गरेर भागेका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुरसिमरा २ पाँचधुरे टोलका २५ वर्षीय आयुष राई रहेका छन् । साथीलाई चक्कु प्रहार गरेर भागेका राईलाई प्रहरीले शनिबार राति जीतपुरसिमरा १६ महेन्द्रनगर स्थित धानखेतबाट पक्राउ गरेको हो ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अन्य तीनजनालाई पक्राउ गरेको छ । पक्राउ परेका अन्यको विवरण प्रहरीले खुलाएको छैन ।घटना भएको होटलकी सन्चालिकालाई समेत हामीले सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ, थप विवरण खुल्न बाँकी छ,ु ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले भने ।
जीतपुरसिमरा २ का ३५ बर्षीय शेरबहादुर खड्कामाथि शनिबार साँझ ५ बजेतिर सोहि वडामा पर्ने सिमरा मेनरोडमै रहेको सम्झना स्टाफ होटलमा चक्कु प्रहार भएको थियो ।
घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि बिरगंज पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।खाजापसलमा शनिबार दिउँसो खाजा खान आएका समुहबिच विवाद भएपछि सोहि खाजापसलको किचेनमा रहेको चक्कु खड्कामाथि प्रहार भएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा खाजा खान बसेका खड्कामाथी बाहिरबाट आएका राईले विवाद गरेको र होटलकै मासु काट्ने चक्कुले हानेर हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।मृतक खड्काको शव वीरगन्ज स्थित बयोधा मेडीसिटी हस्पिटलमा राखिएको छ ।घटनाका सम्बन्धमा बारा प्रहरीले अनुसन्धान गरिरहेको छ ।































