काठमाडौँ । पाल्पा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि रु. ८३ हजार सहयोग उपलब्ध गराएका छन् । कारागारमा रहेका कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम संकलन गरी बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरेका हुन् ।
हाल पाल्पा कारागारमा २२४ पुरुष र १३ महिला गरी २३७ कैदीबन्दी छन् । संकलित रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको कारागारका प्रशासक भगवानभक्त अर्यालले जानकारी दिए ।
कैदीबन्दीले कारागारभित्र उद्यमशीलताका काम गर्दै आएको र त्यहीबाट आर्जन गरेको केही रकमबाट बाढीपीडितलाई सहयोग गरेका उनले बताए।
‘हामी जहाँ भए पनि समाजकै सदस्य हौँ’ भन्ने भावनाका साथ कैदीबन्दीले रकम संकलन गरेका अर्यालले बताए ।
“उनीहरूको सहयोगको आकार ठूलो नहुन सक्छ, तर विपद्का बेला पीडितप्रति देखाएको मानवीय समवेदना भने अर्थपूर्ण छ”, उनले भने । कारागारभित्र कैदीबन्दीले मुढा बनाउने, सिलाइँबुनाइ, डोको नाम्लो बनाउने, बात्ती बनाउनेलगायत सीपमूलक काम गर्दै आएका छन् ।
त्यस्तै, तनहुँका नेपाल मगर संघ भिमाद र ढोर फिरफिरे तमु समाजले बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि आर्थिक सहयोग गरेका हुन् ।
नेपाल मगर संघ भिमादले रु. एक लाख ९५ हजार सहयोग गरेको छ । संघका अध्यक्ष ज्ञानबहादुर थापाले समितिका सदस्यबाट रकम संकलन गरी बाढी प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जानकारी दिए ।
त्यसैगरी ढोर फिरफिरे तमु समाजले रु एक लाख ५६ हजार ५१५ सहयोग गरेको छ । समाजका अध्यक्ष नन्दलाल गुरुङका अनुसार समाजका सदस्यबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको थियो ।






























