काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि १० घण्टा बन्द हुने भएको छ । विमानस्थल आजदेखि करिब पाँच महिनासम्म दैनिक १० घण्टासम्म बन्द गर्न लागिएको हो ।
विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् ।
रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउन लागिएको प्राधिकरणले जनाएको छ ।