काठमाडौं। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू भागको नजिक)अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ भने, राती पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कोसी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।