म्याग्दी । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ ।
गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिक स्थल कागबेनीमा राति ८ बजे काग खोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्याएको हो ।
बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर-होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युत्का पोल बगाएको बताए ।
प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएको बताए।
विद्युत् पोल ढलेकाले विद्युत् आपूर्ति बन्द भएको छ । दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ ।
मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ ।