काठमाडौं । गौशालाको पिंगलास्थानमा मृत भेटिएकी सुस्मिता खड्काको हत्या उनकै प्रेमीले गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।
सुस्मिताको हत्या उनकै प्रेमी देव बहादुर थापाले गरेको निष्कर्षमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुगेको हो । उनले नशालु पदार्थ सेवन गराई वा कुन विधिले हत्या गरेका हुन् भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।
जापान जाने तयारीका लागि भाषा कक्षामा सहभागी सुस्मिता र देवबहादुर प्रेमी, प्रेमिका थिए। देवबहादुर केही समय जापान बसेर फर्किएका हुन्। ओखलढुंगा, सिस्नेरी स्थायी ठेगाना भएका थापा काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका, आलापोटमा बस्दै आएका थिए। मृतक सुस्मिताको घरपनि आलापोटमै हो।
उनीहरू पुस १६ गते राति पिंगलास्थानस्थित होटल बागमतीको कोठा नं। ३०८ मा छिरेका थिए। १२ बजे थापा कोठाबाट बाहिर निस्किए। त्यसक्रममा उनले बाहिरबाटै चुक्कुल लगाएको प्रहरीले जनाएको छ। बाहिरबाट ढोका लगाएर युवतीको मोबाइल समेत लगेर भागेकोले हत्या थापाबाटै भएको प्रहरीको दाबी छ। कोठाभित्र रेडबुलका केही बट्टामात्रै भेटिएको छ। अहिले उनी फरार छन् ।






























