ग्लोबल आईएमई बैंकले मनायो १८औं वार्षिकोत्सव

काठमाडौं । ग्लोबल आईएमई बैंकले आज आफ्नो १८ औं वार्षिकोत्सव मनाउँदै छ । बैंकिङ क्षेत्रमा ग्लोबल आईएमई बैंकको यात्रा अद्वितीय छ । बैंकले २०६३ सालमा आफ्नो सुरुवात गरेको थियो । यस अवधिमा आइपुग्दा ग्लोबलले विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर गरिसकेको छ । ग्लोबल आईएमई बैंक मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो ।

२०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रूपमा स्थापना भएको ग्लोबल बैंकको यात्रा १८ औं वार्षिकोत्सव मनाउन पाउदा धेरै ठूलो सफलता मानेको छ । बैंकले २०६५ सालमा आईपीओ निष्काशनको अनुमति पाएको थियो । ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ जारी गरेपछि बैंकको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको थियो ।

०६५।६६ मा २ः१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी डेढ अर्ब पुगेको बैंकले जनाएको छ । ०६६।६७ देखि बैंकले निरन्तर लाभांश वितरण गर्दै आएको छ । अधिकतम २५.५ प्रतिशतसम्म लाभांश प्रदान गरेको यस बैंकले ३ वटा आर्थिक वर्षबाहेक हरेक वर्ष दोहोरो अंकको लाभांश वितरण गनै सफल भएको छ ।

२०८० आषाढ मसान्तको तुलनामा २०८१ आषाढ मसान्तमा बैङ्कको पुँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ । तर कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन ।

आर्थिक वर्ष २०८०/८१ मा बैङ्कले सञ्चालन मुनाफा ८८६ दशमलव ७३ करोड र कर पछिको मुनाफा ६१३ दशमलव ७४ करोड हासिल गर्न सफल भएको छ । २०८०/८१ मा बैङ्कको सञ्चालन मुनाफाको संक्षिप्त विवरण निम्नानुसार रहेको छ ।

व्यवसायीक विस्तारमा बैंक

ग्लोबल आईएमई बैंक हाल मुलुकका सबै ७७ जिल्लामा शाखा सञ्जाल रहेको पहिलो निजी वाणिज्य बैंक हो। बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,१०० भन्दा बढी सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई लगायतका मुलुकहरूबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।

चालु आवको प्रथम त्रैमासको प्रगति

चालु आको प्रथम त्रैमास सम्ममा बैङ्कको निक्षेपमा २४.५१ अर्बले वृद्धि भई ५२९.३८ अर्ब पुगेको छ । यस्तै कर्जा लगानीतर्फ पनि २७.८६ अर्बले वृद्धि भई ४१८.६३ अर्ब पुगेको छ । चालु वर्षको प्रथम त्रैमास अवधिमा बैङ्कले १५१ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

चालु आवको पहिलो त्रैमासको अन्तमा बैङ्कको निष्क्रिय कर्जा ४.६७ प्रतिशत कायम भएसँगै कर्जा असुलीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिने जनाएको छ ।

ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ अर्ब ६६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकको कुल कारोबार ९ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । कर्जा प्रवाहमा पनि बैंक अग्रस्थानमा छ । १५ महिनाको अवधिमा बैंकले २७ अर्ब रुपैयाँले कर्जा प्रवाह वृद्धि गर्दै ४ खर्ब १० अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको लागत आय अनुपात ३६।३० प्रतिशत छ भने कर्मचारीमा १ रुपैयाँ खर्च गर्दा ह्यान्डल हुने बिजनेसको आकार १००७ रुपैयाँ रहेको छ । हालसम्मको तथ्यांकअनुसार बैंकको सञ्चित वितरणयोग्य नाफा १ अर्ब ९१ करोड रहेको छ जुन वाणिज्य बैंकहरुमध्ये पाँचौं धेरै हो ।

ग्लोबल आईएमई बैंकले आईपीओ निष्काशनदेखि अहिलेसम्म निरन्तर लाभांश वितरण गर्दै आएको छ । यदि कुनै लगानीकर्ताले बैंकको आईपीओमा १०,००० रुपैयाँ लगानी गरेको भए, हालसम्म उक्त लगानीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । बैंकले १५ वर्षदेखि लगातार लाभांश वितरण गर्दै आएको छ ।

आगामी यात्रा

बैङ्कले आगामी दिनमा ग्राहकहरूलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, सेयरधनीहरूलाई उचित प्रतिफल दिने गरी आफूलाई अग्रणी बैङ्कको रूपमा स्थापित गर्ने गरी भावी कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

बैङ्कले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवद्र्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत थप आयामहरू समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्याउने लक्ष्य राखेको छ । आधुनिक प्रविधिमा आधारित व्यावसायिक सेवालाई प्राथमिकतामा राखिने बैङ्कको उद्देश्य छ ।

हाल बैङ्कले देशका ७७ वटै जिल्लामा आफ्ना शाखा कार्यालय, शाखारहित बैङ्किङ सेवा, एटीएम, एक्सटेन्सन र अन्य काउन्टरसमेत जम्मा १ हजार १०० सेवा केन्द्रमार्फत करिब ५० लाख ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी समयमा बैङ्कले दिगो व्यावसायिक वृद्धिका लागि आफ्नो वार्षिक व्यावसायिक कार्ययोजना अनुरुपका रणनीतिहरू कार्यान्वयन गर्दै जाने बताइएको छ । बैङ्कले थप भ्यालु एडेड सर्भिसेज–प्रोडक्ट बजारमा पुर्याउने कार्ययोजना बनाएको छ ।

आफ्नो व्यावसायिक हितलाई पहिलो प्राथमिकतामा राखी आगामी दिनहरूमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँगको कारोबार अगाडि बढाइने नीति बैङ्ले लिएको बताइएको छ । यसका अलवा साना उद्यमीहरूलाई प्राथमिकतामा राखी कर्जा प्रवाह गर्ने, पूर्वाधार निर्माणतर्फ सहकार्य गर्ने, रेमिट्यान्स बजारलाई बिस्तार गर्दै अझ प्रभावकारी बनाइने बैङ्कको योजना रहेको छ ।