काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मितेरी सहकारी बचत तथा ऋण सहकारीको रकम अपचलनमा ज्योति गुरूङसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिसका लागि सिफारिस गरिएको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर-५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हो ।
उनीहरुविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोलको सचिवालयमा पत्राचार गरिएको जानकारी सीआईबीका एसपी होमिन्द्र बोगटीले दिए ।
कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ सो सहकारीको प्रबन्ध निर्देशक हुन् । बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।































