दुर्गा प्रसाईंले गरे संयोजक राजिव झालाई कार्वाही

काठमाडौं । नेपालको राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले बह्मलुट मच्चाएको भन्दै चर्को स्वरमा विरोध गर्ने नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंकै अभियान्ताले घुस खाएको रहस्य बाहिरिएको छ ।

पछिल्लो समय आफुलाई भ्रष्टाचारविरोधी अभियन्ताको रुपमा चिनाउँदै आएका प्रसाईं संयोजक रहेको नागरिक बचाउ महाअभियानको अञ्चल संयोजकमाथि गम्भीर आरोप लागेको हो ।

जनकपुर अञ्चलका अभियान संयोजक राजिव झाले अभियानको लेटरहेड दुरुपयोग गरी जनसाधारण तथा पीडित विपन्न भुइँमान्छेबाट पैसा उठाएर अनुचित लाभ लिएको ठहर भएपछि निलम्बनमा परेका छन् ।

प्रसाईंको सचिवालयले नै गरिब र सर्वहारा वर्गका मानिसहरूबाट रकम असुल गरी उनीहरूको घरबास उठाएर सडकको बास बनाएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको छ । अभियान सचिवालयले झाको सिंगो परिवार मिटर ब्याजजस्तो गैरकानूनी कार्यमा संलग्न भएको र पीडितहरूको शोषण गरी उनीहरूलाई थप प्रताडित बनाएको जिकिर गरेको छ ।

सचिवालयले एक लिखत जारी गर्दै, ‘झालाई पटक-पटक मर्यादित भएर काम गर्न निर्देशन दिएपनि उनले मेरो निर्देशन नमानेर सोसियल मिडियामा अभियानको गलत प्रचार प्रसार गरेका छन् । यसले अभियानको उद्देश्यलाई नै हानी गरेको छ । त्यसैले, झालाई अभियानको साधारण सदस्यसमेत नरहने गरी तुरुन्तै निलम्बन गरिएको छ’ भनी सार्वजनिक गरेको छ ।