रास्वपाका मन्त्रीहरुले राजीनामा नदिई बालुवाटारबाट फर्किए

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् ।

राजीनामा पत्र बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि राजीनामा नदिई फर्किएका छन् ।

प्रधानमन्त्रीसँगको भेटपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद् सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिबेला सम्म साथ दिन आग्रह गरेकोले राजीनामा नबुझाएको बताए । परियारले प्रधानमन्त्रीलाई छिटो विश्वासको मत लिन आग्रह गरेको आफूहरूले बताएको जानकारी दिए ।

यसअघि बुधबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेटेर एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। साथै एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ। एमालेले समर्थन फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।