काठमाडौं– अमेरिकाका र्यापर डन टोलिभरको साङ्गीतिक कार्यक्रममा अज्ञात पदार्थ फैलिएको घटनापछि बेलायतको म्यानचेस्टर सहरमा हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आइतबार राति स्थानीय समयअनुसार करिब १० बजे को-अप लाइभ एरिनाभित्र धुवाँको मुस्लो फैलिएको थियो । भिडियोमा १२ हजारभन्दा बढी दर्शक उपस्थित रहेको कार्यक्रममा धुवाँ फैलिएपछि भाग दौड मच्चिएको देखिन्छ ।
यस घटनाले ठुलो आपत्कालीन उद्धार तथा सुरक्षा परिचालन गर्नुपरेको थियो । सन् २०१७ मा आत्मघाती बम आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको म्यानचेस्टर सहरमा यो घटनाले पुनः त्रास फैलाएको छ । आक्रमण अमेरिकी गायिका एरियाना ग्रान्डेको कन्सर्टका क्रममा भएको थियो, जसमा बालबालिकासमेत मारिएका थिए ।
आइतबार राति प्रहरीले सुरुमा जारी गरेको वक्तव्यमा कन्सर्टको अन्त्यतिर भीडमा अश्रुग्याँस जस्तो पदार्थ छाडिएको आशङ्का गरिएको उल्लेख थियो । तर पछि जारी गरिएको अर्को वक्तव्यमा त्यसलाई ‘अज्ञात पदार्थ’ भनिएको छ ।
म्यानचेस्टरको नर्थ वेस्ट एम्बुलेन्स सेवाका अनुसार ५० भन्दा बढी व्यक्तिले आँखा र श्वासप्रश्वाससम्बन्धी समस्याका कारण उपचारका लागि सहयोग मागेका थिए । एक जनालाई भने अस्पताल भर्ना गर्नुपरेको थियो ।
कन्सर्टमा सहभागी येवान्डे फामुटिमीले नाचिरहेका बेला अचानक आफ्नो घाँटीमा पोल्ने महसुस भएको बताइन् । उनले भनिन्, ‘यो निकै डरलाग्दो थियो । हामीलाई सास फेर्न गाह्रो भइरहेको थियो र लगातार खोकी लागिरहेको थियो ।’
‘हामीले एरिनाको भुईँतर्फ रहेका मानिसहरू बाहिर दौडिरहेको देख्यौँ । कार्यक्रम जारी रहन्छ कि रहँदैन भन्नेमा हामी अन्योलमा थियौँ । तर बत्ती बलिसकेपछि कार्यक्रम सकिएको थाहा पायौँ ।’
प्रहरीले एरिनाबाट सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाएको छ । साथै घटनापछि कुनै असर महसुस गरेका वा बिरामी परेका व्यक्तिलाई नजिकैको अस्पतालमा जान आग्रह गरेको छ ।
लिन्ड्से लिभरपुलले आफ्ना १७ वर्षीय छोरा साथीहरूसँग जन्मदिन मनाउन उक्त कार्यक्रममा गएको र घटनापछि उसको खबर पर्खँदा आफू निकै त्रसित भएको बताइन् ।
उनले भनिन्, ‘उसले धुवाँ र पटाका वा फ्लेयर जस्तो देखिने वस्तुहरू देखिएको बतायो । त्यसपछि बत्ती बल्यो र डन टोलिभर मञ्चबाट बाहिरिए । फोनमा नेटवर्क थिएन । त्यसैले उसलाई सम्पर्क गर्न सकिएन । उनीहरूलाई खोज्नुपर्दा निकै चिन्ता भयो ।’
कार्यक्रममा सहभागी उस्मान असगरले २३ हजार ५०० दर्शक क्षमताको उक्त एरिनाको अवस्था ‘पूर्ण रूपमा अस्तव्यस्त’ रहेको बताए । उनले सुरक्षा जाँच प्रभावकारी रूपमा नगरिएको भन्दै आश्चर्य व्यक्त गरे ।
असगरले भने, ‘सुरक्षाकर्मीले हामीलाई जाँच गर्न मेटल डिटेक्टर प्रयोग गरेनन् । सामान्यतया गरिने शारीरिक जाँच पनि भएन । मेरी श्रीमतीको झोलासमेत जाँच गरिएन । घटना भएपछि कर्मचारीहरूले डन टोलिभरले केही समयका लागि विश्राम लिइरहेको मात्र बताए । वास्तवमा के भइरहेको छ भन्नेबारे कसैलाई जानकारी दिएनन् । हजारौँ दर्शकलाई कुनै सूचना दिइएन ।’
आइतबारको कार्यक्रममा अपनाइएका सुरक्षा व्यवस्थाबारे सोधेको प्रश्नमा को-अप लाइभले तत्काल प्रतिक्रिया दिएन । तर एक प्रवक्ताले घटनाको कारण पहिचान गर्न र आवश्यक कदम चाल्न प्रहरीसँग नजिकबाट सहकार्य भइरहेको बताए ।
ती प्रवक्ताले भने, ‘को–अप लाइभमा आउने सबै दर्शकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । प्रहरीबाट थप जानकारी प्राप्त भएपछि हामी सार्वजनिक गर्नेछौँ ।’
अझै मेटिएका छैनन् पुराना घाउ
कन्सर्टमा सहभागी दर्शकसहित सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताले यस घटनाले सन् २०१७ को म्यानचेस्टर एरिना बम आक्रमणको त्रास पुनः सम्झाएको बताएका छन् ।
असगरले भने, ‘सन् २०१७ को घटनाबाट हामीमध्ये धेरै जना अझै मानसिक रूपमा प्रभावित छौँ । त्यसैले अहिलेको घटनाले निकै नराम्रो अनुभूति गरायो ।’
लिभरपुलले पनि आफू वा आफ्ना छोराछोरी कुनै कार्यक्रममा सहभागी हुँदा सन् २०१७ को आक्रमणको घटना सधैँ दिमागमा आउने गरेको बताइन् । उनले भनिन्, ‘हामी आफ्नो सुरक्षाका लागि यस्ता कार्यक्रम स्थल र त्यहाँ कार्यरत कर्मचारीमाथि भर पर्छौँ । यस्ता घटना हुन नदिन उनीहरूले आवश्यक सुरक्षा व्यवस्था मिलाउने अपेक्षा गर्छौँ ।’
प्रहरीले घटनामा फैलिएको पदार्थ के थियो र त्यसको कारण के हो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार सोमबार बिहानसम्म पनि केही व्यक्तिहरू स्वास्थ्य परीक्षणको प्रतीक्षामा थिए ।
सहायक प्रमुख प्रहरी अधिकृत स्टेफ पार्करले भनिन्, ‘कन्सर्टमा सहभागी प्रत्येक व्यक्तिको सुरक्षा सुनिश्चित गर्नु हाम्रो पहिलो प्राथमिकता थियो ।’
घटना लगत्तै को–अप लाइभले आफ्नो एक्स खातामार्फत प्रहरीका सूचनाहरू सार्वजनिक गर्दै आपत्कालीन सेवाका कर्मचारीहरूले उद्धार तथा मानिसहरूलाई बाहिर निकाल्ने काम गरिरहेकाले एरिनाको आसपास नजान सर्वसाधारणलाई आग्रह गरेको थियो ।




























