काठमाडौं । प्रहरी प्रधान कार्यालयले पत्र नबुझेपछि सर्वोच्च अदालतले भाषा संशोधन गर्दै पुन: पत्र पठाएको छ ।
निर्वतमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । साथै विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ पठाउन समेत आदेश गरेको थियो ।
उक्त आदेशअनुसार सर्वोच्च प्रशासनले बिहीबार सूचना म्याद जारी गरिएको पत्र प्रहरी प्रधान कार्यालय पठाएको थियो । अदालतमा शाखा अधिकृत रेवतीप्रसाद पराजुलीले हस्ताक्षर गरेको पत्रमा बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको थियो ।
पत्रमा ‘नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीमार्फत प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंको नाउँमा जारी भएको सूचना म्याद’ लेखिएको थियो ।
तर, यो भाषा नमिलेको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार सर्वोच्च अदालतको पत्र बुझेको थिएन । त्यसपछि आज शुक्रबार संशोधन गर्दै अर्को पत्र पठाएको हो ।
जहाँ यसअघिको पत्रमा लेखिएको बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीको ठाउँमा संशोधन गर्दै ‘अहिले बढुवा गरिएको प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी’ उल्लेख गरिएको छ ।
यस्तो छ संशोधित पत्र–

यस्तो छ सुरूमा सर्वोच्चले पठाएको पत्र–





























