काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने ठूलो जिम्मेवारी सरकारको रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार निर्वाचन आयोगले स्थानीय तह र प्रदेश सभा निर्वाचनबारे दलका नेतासँग गरेको छलफलपछि पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘निर्वाचन आयोगले के कुराको हेक्का राख्नुपर्दछ भने निर्वाचनको निष्पक्षता, निर्वाचनका काम गर्ने सन्दर्भमा आयोगको एउटा जिम्मेवारी छ । तर त्यो सीमित छ,’ सभापति थापाले भने, ‘निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने कुरामा सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ ।’
निर्वाचनका बेला सरकारले प्रतिपक्ष चिन्दिनँ भनेर पन्छिन नपाइने उनले बताए । ‘सरकारले अरु कैयन् विषयमा म अरु कुनै पनि राजनीतिक दल चिन्दिनँ, प्रतिपक्षले चिन्दिनँ, कसैलाई चिन्दिनँ, कसैलाई गन्दिनँ, कसैलाई मान्दिनँ भन्दैगर्दा अरुबेलाका सरकारको कामकारबाही चल्छ, तर निर्वाचनमा चल्दैन्,’ उनले भने ।
निर्वाचन आयोगलाई निर्वाचनको वातावरण बनाउन सरकारले खेल्नुपर्ने भूमिकाबारे समयमै ध्यानाकर्षण गराउन आफूले भनेको पनि सभापति थापाले सुनाए ।
‘हामीले स्मरण गरायौं– भाद्र २३ र २४ को अनपेक्षित विप्लपपछाडि एकैपटक जुन रिक्तताको स्थिति आयो र निर्वाचन भयो,त्यो बेलामा निर्वाचन आयोगले मात्रै निर्वाचन गराएर निर्वाचन भएको होइन, निर्वाचन आयोगको ठूलो भूमिका थियो,’ उनले भने, ‘त्यो बेलाको सुशीला कार्कीको सरकारले दलहरूसँग कतिपटक कुराकानी गर्यो, कसरी वातावरण बनायो भन्ने कुरा महत्त्वपूर्ण छ ।’
त्यसैले स्थानीय तह र प्रदेशको निर्वाचन गर्ने र त्यसलाई शान्तिपूर्ण बनाउने कुरामा सरकारले गर्नुपर्ने कामबारे आयोगले समयमै सरकारको ध्यानाकर्षण गराउन आफूले सुनाएको उनले बताए ।
‘निर्वाचन आयोगले मात्रै सबै जिम्मा नउठाओस् । सबै जिम्मा आयोगको मात्रै हुँदैन,’ उनले भने ।
निर्वाचन कहिले गराउने ? कसरी गराउने ? भन्ने कुरा संविधानमै भएका व्यवस्था रहेको बताउँदै कतिपय विषय व्यवहारिक रूपमा पनि हुने उनले बताए ।
यस्ता विषयमा सरकारले दलहरूसँग छलफल गरेर टुंग्याउनुपर्ने उनले धारणा राखे ।




























