धरानमा गोली चलाएर गाँजासहित ५ जना तस्कर पक्राउ, दुईवटा स्कार्पियो नियन्त्रणमा

सुनसरी। धरानमा प्रतिबन्धित लागू औषध गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर ५ जनालाई पक्राउ गरेको छ।सप्तरी डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, सप्तरी राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत विशुङ्खेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी भीषणबाबू राईले जानकारी दिए।

सोमबार बिहान करिब ३ बजे धरान उपमहानगरपालिका–२० च्यानडाँडास्थित क्षेत्रमा गाँजा लोड भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोली घटनास्थल पुग्दा बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको अवस्थामा फेला पारेको थियो। प्रहरीका अनुसार उक्त गाडीमा ८ पोका गाँजा लोड गरिएको र प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ।

राईका अनुसार प्रहरीले उनीहरूको साथबाट २१० किलो गाँजा र तस्करीमा प्रयोग गरिएका दुईवटा स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार रामसागर यादव र राजकुमार शाहले स्कार्पियो गाडी चलाइरहेका थिए। बा १ च ५०३८ नम्बरको गाडी यादव र को १ च ८१८२ नम्बरको गाडी शाहले चलाएका थिए।डीएसपी राईले पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर थप अनुसन्धान भइरहेको जानकारी दिए। गाँजा तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा कारोबारको सञ्जालबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।