काठमाडौं । ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा भएको विवाद समाधान गर्न भेटवार्ता चलिरहेको छ । सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबार भएको वार्ता निष्कर्षमा नपुगेपछि समस्या समाधानको प्रयास जारी रहेको हो ।
आज आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकसँग वार्ता गर्ने तयारी रहेको छ । आफ्नो पहलमा आन्दोलनरत पक्षको गृहमन्त्रीलाई भेट्ने तय भएको ताप्लेजुङका सांसदसमेत रहेका योगश भट्टराईले जानकारी दिए ।
‘आइतबार बिहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म निर्माणाधिन पाथीभरा केवलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधि मित्रहरूसँग सौहाद्रपूर्ण संवाद गरियो । उहाँहरूका कुरा सुने । मेरा कुरा भनेँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँहरूले गृहमन्त्रीसमक्ष भेटेर आफ्ना कुरा राखन चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भएअनुरुप मैले गृहमन्त्रीलाई अनुरोध गरे । गृहमन्त्रीले आज साँझ ६ बजे भेटघाटको समय दिनु भएको जानकारी गराउँदछु । आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्तामार्फÞत् समस्याको समाधान गर्न अनुरोध गर्दछु ।’
यता वार्ता टोलीकी सदस्य सरस्वता सिङ्गक सरुले पनि गृहमन्त्री रमेश लेखकसँग आज छलफल हुने जानकारी जनाएकी छन् । वार्तापछि गृह मन्त्रालयले आइतबार राति विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको जनाएको थियो ।