भौतिक पूर्वाधार मन्त्रालय खारेज गर्न अर्थशास्त्री पौडेलले प्रस्ताव

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खारेजीको प्रस्ताव गरेका छन्। अमेरिकाले यूएसएआईडी कार्यक्रम खारेज गरेको सन्दर्भ जोड्दै पौडेलले भौतिक पूर्वाधार मन्त्रालय खारेजीको प्रस्ताव गरेका हुन्।

‘अमेरिकामा यूएसएआईडी खारेज गरेको देख्दा मेरो मनमा पनि नेपालमा एउटा संस्थाचाहिँ खारेज गर्नुपर्छ भन्ने लागेको छ,’ पौडेलले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘ऊर्जा मन्त्रालयमा जस्तो प्रगति सडकमा हुनै सकेन र अब यो स्थिति लामो जानु हुँदैन। यसको प्रथम बिन्दु भनेको साविक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खारेजी नै हो।’

उनले विकल्प समेत दिएका छन्। ‘एक्प्रेसवे र टनेल (काठमाडौंमा मेट्रो बनाउन अति आवश्यक भएकाले उक्त मेट्रो पनि) जति सिधै प्रधानमन्त्री कार्यालयमा राखिदिउँ। कुनै विशेष समूह बनाएर त्यहाँ अन्तर्राष्ट्रिय बोलकबोलबाट अनुभवी प्रशासक तथा प्रोजेक्ट म्यानेजर ल्याऔँ। खरबौँका आयोजनामा राम्रो तलब नदिए गतिला म्यानेजर आउँदैनन्। नेपाली हुन् या विदेशी, राम्रो इन्जिनियर र प्रोजेक्ट म्यानेजर ल्याऔँ’, उनले भनेका छन्।

पानीजहाज, जलमार्ग र रेल कार्यालय पनि खारेज गर्नुपर्ने उनको सुझाव छ। त्यस्तै निर्वाचन क्षेत्र रणनीतिक सडक, वैकल्पिक सहायक राजमार्ग विकासजस्ता कार्यक्रम प्रदेशलाई र साना आयोजना पालिकाहरूलाई दिनुपर्ने सुझाव पौडेलको छ।

यसबाहेकको एउटा चुस्त सडक मन्त्रालय बनाउनुपर्ने सुझाव उनको छ। ‘यसमा अहिलेसम्म काम गरेका सबै आयोजना प्रमुखहरूको मूल्यांकन गरेर सबैभन्दा राम्रालाई प्रमुख उत्तर दक्षिण (कोशी, कर्णाली, गण्डकी, भेरी, सेती, मेची र महाकाली कोरिडोर) तथा पूर्व-पश्चिम (हुलाकी, महेन्द्र, बिपी, पुष्पलाल र हिमाली राजमार्ग)पाँच वर्षभित्र सक्ने गरी जिम्मेवारी दिऔँ,’ उनले भनेका छन्।