काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको इन्टरनेट सेवाबारे प्रचारप्रसार गरेका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत प्रचार गरेका हुन्। यसअघि दुग्ध विकास संस्थानको पनि उनले प्रचार गरेका थिए।
टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।
निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सुलभ दरको साना इन्टरनेट प्याकेज बन्दको घोषणा गरे पनि नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज कार्यान्वयनमा ल्याएको हो। टेलिकमका अनुसार सो प्याकेजको वार्षिक शुल्क चार हजार ९९९ रुपैयाँ तोकिएको छ।
टेलिकमले ‘फाइबर टु द होम’अन्तर्गत एनटी फाइबर प्रयोगकर्ता ग्राहकका लागि वाइफाई ६ मा नायँ प्याकेज उपलब्ध गराउने भएको छ। जसअनुसार वार्षिक इन्टरनेट र टेलिफोन प्याकेज जडान गर्दा १०० एमबिपिएसको ११ हजार ४९९ र १५० एमबिपिएसको १२ हजार ९९९ रुपैयाँ शुल्क लाग्ने टेलिकमका प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए।
टेलिकमले २०० एमबिपिएसको इन्टरनेट १६ हजार ४९९ मा उपलब्ध गराउनेछ। वार्षिक ग्राहकका लागि दैनिक ८०० देखि १००० एमबी मोबाइल डाटासमेत निःशुल्क उपलब्ध हुनेछ। यी प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क (रु ५००) नलाग्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ। यी सबै अफरहरु आजदेखि लागू हुनेछन्।































