काठमाडौं । नेपाल प्रहरीलाई प्रविधिमैत्री र समयानुकूल बनाउन कृत्रिम बौद्धिकता, ड्रोन तथा एन्टि–ड्रोन प्रविधि र ठगी नियन्त्रणका लागि नयाँ संरचना विकास गर्ने योजना अघि बढाइएको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन् ।
शुक्रबार ७१औँ प्रहरी दिवसका अवसरमा बोल्दै कार्कीले अपराध अनुसन्धान र प्रहरी सेवाको प्रभावकारिता बढाउन आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने बताए ।
उनका अनुसार एआई तथा एड्भान्स्ड एनालिटिक्स सेल, एरियल सेक्युरिटीअन्तर्गत ड्रोन तथा एन्टि–ड्रोन युनिट र इन्टिग्रेटेड एन्टि–स्क्याम सेन्टरजस्ता संरचना अघि बढाइएका छन् । यी संरचनाले प्रहरीको कार्यक्षमता सुधार गर्न सहयोग पुग्ने उनको विश्वास छ ।
‘नेपाल प्रहरीको सुधारमा योगदान पुर्याउने सञ्चारकर्मी, नागरिक समाज, समुदाय र सबै शुभेच्छुकप्रति आभार व्यक्त गर्दछु,’ कार्कीले भने, ‘अमर प्रहरीहरूको बलिदानलाई सम्मान गर्दै नागरिकमैत्री, उत्तरदायी र प्रविधिमैत्री प्रहरी संगठन निर्माण गर्ने प्रतिबद्धता दोहोर्याउँछु ।’
कार्कीले प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्दै भविष्यमा नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्ने लक्ष्य पनि अघि बढाइएको बताए । यसबाट प्रहरी कर्मचारी, उनीहरूका परिवार र सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ थियो ।
प्रहरी संगठनको प्रभावकारिता कायम राख्न आदेश शृङ्खला, अनुशासन, जवाफदेहिता र आपसी समन्वय आवश्यक रहेको उनले बताए । संगठनलाई थप उत्तरदायी बनाउन सबैको सहयोग र समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो ।































