काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीचको दूरीमा खेलेर क्षणिक सत्ता स्वार्थ पूरा गर्ने विगतका शासकहरूका गल्ती नदोहोर्याउन आग्रह गरेका छन्। छिमेकीबीचको प्रतिस्पर्धात्मक सहकार्यबाट नेपालले लाभ लिनुपर्ने बताउँदै उनले सुझबुझपूर्ण कूटनीति अपनाउन जोड दिए। नेपाललाई दुई छिमेकीबीच ‘गतिशील सेतु’ र ‘शान्ति राष्ट्र’ का रूपमा रूपान्तरण गर्न योजनाबद्ध काम थाल्नुपर्ने भन्दै उनले बेलैमा ध्यान पुर्याउन युवा सत्ताधारीहरूलाई सचेत गराएका छन्।भारत र चीनबीचको दूरीमा खेलेर क्षणिक सत्तास्वार्थ पूर्ति गर्ने र देशलाई परनिर्भरतामा फसाउने अल्पदृष्टि भएका शासकहरूको गल्तीबाट सिक्न आवश्यक छ।समयमै कूटनीतिक सुझबुझ अपनाउन सकिएन भने ‘दुई हात्ती लड्दा वा मिल्दा घाँसकै नाश’ भनेझैँ दुष्परिणाम भोग्न बाध्य हुनुपर्नेछ।






























