फिलिपिन्सको ताल ज्वालामुखीमा विस्फोट: ४ हजार मिटर माथिसम्म फैलियो खरानी

फिलिपिन्स । फिलिपिन्सको राजधानी मनिनाको दक्षिणी क्षेत्रमा रहेको ताल ज्वालामुखीमा बिहीवार साँझ विस्फोट भएको छ । स्थानीय समयअनुसार साँझ ६:०६ बजे भएको यो ‘माइनर फिएटोम्याग्मेटिक’ विस्फोटले करिव ४ हजार मिटरको उचाइसम्म खरानीको मुस्लो फालेको फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ ।

संस्थानकाअनुसार पाँच मिनेटसम्म चलेको उक्त विस्फोटपछि ज्वालामुखीको मुखबाट निस्किएको खरानीको मुस्लो दक्षिण–पश्चिमी क्षेत्रतर्फ फैलिएको छ । संस्थानले यस घटनालाई सानो स्तरको विस्फोटका रूपमा वर्गीकरण गरे पनि वरपरका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरेको छ । फिलिपिन्सको पाँच तहको ज्वालामुखी शतर्कता मापदण्डमध्ये हाल तह १ कायम राखिएको छ । ताल ज्वालामुखी फिलिपिन्सको सबैभन्दा सक्रिय ज्वालामुखीहरूमध्ये एक हो । यसअघि सन् २०२० को जनवरीमा भएको ठूलो विस्फोटका कारण करिव ३ लाख ८० हजार स्थानीय बासिन्दा विस्थापित हुनुपरेको थियो भने सयौं घर, कृषि फार्म र सडकमा क्षति पुगेको थियो ।

 प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित भएकाले फिलिपिन्स भौगर्भिक दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण मानिन्छ । यस क्षेत्रमा बारम्बार भूकम्प र ज्वालामुखी विस्फोटका घटनाहरू भइरहने गर्छन् । हालको विस्फोटपछि कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त नभए पनि स्थानीय प्रशासनले निरन्तर अनुगमन गरिरहेको छ ।