इजरायलको आदेशमा बेलायती कन्सुलेटको कामकारबाही बन्द, कूटनीतिक विवाद चुलियो

इजरायल । इजरायलले पूर्वी जेरुसेलममा रहेको बेलायती कन्सुलेटको आधिकारिक कूटनीतिक कार्य बिहीवारदेखि बन्द गराएको छ । इजरायली विदेशमन्त्री गिदोन सारले बेलायतले इजरायलविरुद्ध चालेका कदमहरूको ‘प्रतिउत्तर’ स्वरूप सो कन्सुलेटको कार्य सञ्चालन बन्द गरिएको घोषणा गरेका छन् ।

इजरायली विदेश मन्त्रालयकाअनुसार सेप्टेम्बर महिनामा नै घोषणा गरिएको यो निर्णय बिहीबारबाट कार्यान्वयनमा आएको छ । यसअघि कन्सुलेटमा कार्यरत महावाणिज्यदूतसहित १९ जना कूटनीतिज्ञलाई देश छोड्न आदेश दिइएको थियो । यद्यपि, दुई सरकारबीचको वार्ता पश्चात् सात जना बेलायती कूटनीतिज्ञलाई उक्त भवनमा सीमित अधिकारसहित काम गर्न अनुमति दिइएको छ ।

यो विवादको जडमा बेलायतले इजरायली सेटलमेन्ट र रक्षा निर्यातमाथि लगाएको प्रतिबन्ध रहेको छ । इजरायली विदेशमन्त्री सारले बेलायतको पछिल्लो नीतिविरुद्ध यस्तो ‘प्रतिशोधात्मक’ कदम चालिएको स्पष्ट पारेका छन् । उक्त भवन बेलायती सरकारको स्वामित्वमा रहे पनि अब यसले आधिकारिक कन्सुलेटका रूपमा काम गर्नेछैन ।

अर्कोतर्फ, बेलायती विदेश सचिव एड मिलिब्यान्डले इजरायलको निर्णयलाई ठाडै अस्वीकार गरेका छन् । सन् १९६७ को युद्धपछि इजरायलले पूर्वी जेरुसेलमलाई आफ्नो अविभाज्य राजधानी दाबी गरे पनि अन्तर्राष्ट्रिय समुदायले त्यसलाई मान्यता दिएको छैन । मिलिब्यान्डले पूर्वी जेरुसेलम ‘अधिकृत भूभाग’ भएको बताउँदै करिव २०० वर्षदेखि सञ्चालनमा रहेको कन्सुलेट बन्द गराउने कानूनी अधिकार इजरायलसँग नभएको जिकिर गरेका छन् ।

बेलायती पक्षले उक्त भवन ‘यूके मिसन, जेरुसेलम’ का रूपमा कायमै रहने र प्यालेस्टिनीहरूसँगको काम जारी राख्ने जनाएको छ । सुरक्षाका कारण केही कर्मचारीलाई फिर्ता बोलाइए पनि भविष्यमा कूटनीतिक उपस्थिति पुनर्गठन गर्ने लन्डनको योजना छ । हाल दुवै मुलुकबीच वार्ता जारी राख्ने सहमति भएको छ भने बेलायतले तत्कालका लागि कुनै प्रतिशोधात्मक कदम नचाल्ने प्रतिवद्धता जनाएको छ ।