दुर्घटनाग्रस्त जेजु विमानको इन्जिनमा चराको प्वाँख र रगत भेटियो: प्रारम्भिक निष्कर्ष

एजेन्सी । गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान दुर्घटनाग्रस्त भएको जेजु एयरको विमानको दुवै इन्जिनमा चराको प्वाँख र रगतको धब्बा फेला परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

गत डिसेम्बरमा दुर्घटनाग्रस्त भएको विमानमा चालक दलका सदस्यसहित १८१ जना यात्रु सवार थिए। दुर्घटनाग्रस्त उक्त विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो भन,े दुई जनालाई सख्त घाइते अवस्थामा उद्धार गरिएको थियो। यो दक्षिण कोरियाली भूमिमा भएको सबैभन्दा खराब हवाई दुर्घटना थियो।

दुर्घटनास्थलबाट बरामद गरिएका दुवै इन्जिनको निरीक्षण गरिएको र दुवै इन्जिनमा चराको रगतको धब्बा र प्वाँख फेला परेको प्रतिवेदनमा उल्लेख छ। दक्षिण कोरियाली र अमेरिकी अन्वेषकहरूले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्, चराको आक्रमण, खराब अवतरण गियर र रनवे अवरोधलाई सम्भावित समस्याको रूपमा परीक्षण गरिएको छ।

डिएनए विश्लेषणले प्वाँख र रगत साइबेरियाबाट जाडो याममा कोरिया आउने बैकाल गैरी (बैकल टिल्स) नामक प्रवासी चराहरूको रहेको हुनसक्ने बताएको छ।

रिपोर्टमा ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर दुवैले विपत्तिको चार मिनेटअघि नै काम गर्न छोडेको भेटिएको उल्लेख गरिएको छ।

विमानमा मुख्य चालकले (क्याप्टेन) को ६ हजार ८०० घण्टाभन्दा बढी उडान गरेको र सहायक चालकले एक हजार ६५० घण्टाभन्दा बढी उडान गरेको अनुभव थियो। दुर्घटनामा दुवैको मृत्यु भएको थियो भने दुई जना परिचारिका मात्र बाँचेका थिए।