अनुमानयोग्य सरुवा बनाउन भन्दै प्रहरी हेडक्वाटरले बनायो समिति

काठमाडौं । प्रहरी प्रधान कार्यालयले अनुमानयोग्य सरुवा बनाउने भन्दै समिति बनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले डीआईजी राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा समिति बनाइएको बताए ।

‘सरुवा अनुमानयोग्य र पारदर्शी होस् भनेर समिति बनाइएको छ । अब समितिले गरेको सिफारिसका आधार मानेर सरुवाको प्रक्रिया अघि बढाइन्छ’ डीआईजी काफ्लेले अनलाइनखबरसँग भने ।

अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी भट्टको नेतृत्वमा बनाइएको समितिले यसको काम सुरु गरेको छ । १८ कात्तिकमा आईजीपी बनेलगत्तै डा. मनोजकुमार केसीले सरुवालाई पारदर्शी बनाइने बताएका थिए । उनैको निर्देशनपछि अहिले समिति बनाएर काम सुरु गरिएको हो ।

प्रहरीका हरेक सरुवामा गुनासो आउने, पारदर्शी नहुने भएकाले यो समितिले त्यस्ता गुनासा नआओस् भन्ने हिसाबले काम गर्ने बताइएको छ ।

सरुवालाई सबैले अपनत्व ठानोस्, राइट म्यान राइट प्लेसको अवधारण अनुसार काम होस् भन्ने हिसाबले अहिले काम भएको बताइएको छ । भट्ट नेतृत्वको समितिले गरेको सिफारिसलाई आईजीपीले सदर गरेपछि कानूनी प्रक्रिया पूरा गरेर सरुवा निकाल्ने गरी काम अघि बढाइएको प्रहरी हेडक्वाटरको भनाई छ ।

वसन्त कुँवर आईजीपी भएका बेला सरुवा मापदण्ड बनाइएको थियो । जहाँ विभिन्न जिल्ला तथा इलाकाहरूलाई क, ख, ग गरेर श्रेणी विभाजन गरेर छुट्याइएको छ । क, कार्यालयको नेतृत्व गरेका अधिककृतहरूलाई अर्को पटकमा क मै सरुवा नगरी, ख, ग मा सरुवा गर्ने गरिन्थ्यो ।

यो मापदण्डलाई अहिलेको समितिले थप वैज्ञानिक बनाउने बताइएको छ ।