प्रधानमन्त्री बालेन आइतबार भारत भ्रमणमा जाँदै, मोदीसँग उच्चस्तरीय वार्ता र विभिन्न सम्झौता हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार (मंसिर ६) भारतको औपचारिक भ्रमणमा जाँदै छन्। प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा ३४ सदस्य रहनेछन्। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत वरिष्ठ सरकारी अधिकारीहरू सहभागी हुनेछन्।

प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ः४५ बजे नयाँ दिल्ली पुग्नेछन्। सोही दिन साँझ ६ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग ताजमहल होटलमा भेटवार्ता गर्ने कार्यक्रम छ।

सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा भेटघाट हुनेछ। त्यसपछि उनी राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्। राजघाटको कार्यक्रमपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ।

भेटवार्तापछि सोमबार मध्याह्न १२ः२५ बजे दुई देशबीच विभिन्न सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन आयोजना गरिने कार्यक्रम छ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकास लगायतका विषयमा दुई देशबीच आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ। साथै, सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्याससमेत गरिनेछ।

भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी छ।

यसैक्रममा नेपाल–भारत बिजनेस फोरमसमेत आयोजना हुनेछ। उक्त कार्यक्रममा भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसर, सरकारका नीतिगत प्राथमिकता तथा भारतबाट थप लगानी आकर्षित गर्न भइरहेका प्रयासबारे जानकारी गराइनेछ। साथै, नेपाली तथा भारतीय व्यवसायीबीच सहकार्य र लगानी विस्तारका सम्भावनाबारे छलफल हुनेछ।

प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि उनी अपराह्न ४ः५० बजे नयाँ दिल्लीबाट स्वदेश फर्कने कार्यतालिका रहेको छ।