काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपाली कप्तान सन्दीप लामिछानेले टस जित्दै यूएईलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
नेपालका लागि आजको खेल विशेष महत्वको छ। यो खेल नेपालको १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल हो। आफ्नो ऐतिहासिक खेलमा जित निकाल्दै ५०औं ओडीआई विजय हासिल गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिएको छ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतविरुद्ध २६ रनमै समेटिँदै निराशाजनक हार बेहोरेको थियो। यता यूएई पनि पहिलो खेलमा पाकिस्तान शाहीन्ससँग पराजित भएको थियो।
नेपाल र यूएईबीच हालसम्म २० ओडीआई खेल भएका छन्, जसमा नेपालले १२ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ। यूएई नेपालले सबैभन्दा धेरै ओडीआई खेलेको विपक्षी टोलीसमेत हो।
नेपालले पछिल्लो पटक यूएईसँग एसीसी प्रिमियर कपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा यूएईलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो र एसिया कपमा स्थान सुरक्षित गरेको थियो।
नेपालले हालसम्म खेलेका ९९ ओडीआई खेलमध्ये ४९ मा जित, ४७ मा हार, एक खेल बराबरी र दुई खेलमा नतिजा आउन सकेको छैन।
आज यूएईविरुद्ध जित निकाल्न सके नेपालले आफ्नो १००औं ओडीआई खेललाई ५०औं जितसँगै ऐतिहासिक बनाउने अवसर पाउनेछ।





























