सर्वोच्चका प्रस्तावित न्यायाधीशमाथि संसदीय सुनुवाइ, उजुरीकर्तासँग समितिको छलफल जारी

काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस गरिएका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ। संसदीय सुनुवाइ समितिको बैठकमा सुरुमा प्रस्तावित न्यायाधीशहरूविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल भइरहेको छ।

समितिको कार्यसूचीअनुसार उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द (काठमाडौं) र चन्द्रबहादुर सारू (अर्घाखाँची) लाई समितिमा आमन्त्रण गरी सुनुवाइ गर्ने कार्यक्रम छ।

गत असोज २० गते बसेको न्यायपरिषद् बैठकले बागचन्द र सारूसहित जनक पाण्डे तथा गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

यसैबीच, प्रस्तावित न्यायाधीश पाण्डेविरुद्ध परेका उजुरीमाथि समितिले छलफल गरिरहेको छ। उजुरीकर्ताहरूले झापाको दमकस्थित सार्वजनिक जग्गा हिनामिना प्रकरणमा पाण्डेकी श्रीमती माया पुरी पाण्डेको समेत संलग्नता रहेको आरोप लगाउँदै उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन गर्न नहुने माग गरेका छन्।

उजुरीकर्ताहरूका अनुसार माया पुरी पाण्डेसँगै उनकी आमा देवरुपा पुरी, सालो रेवतराज (गगन) पुरी र गगनकी पत्नी केशवती पुरीविरुद्धको भ्रष्टाचार मुद्दासमेत सर्वोच्च अदालतमा विचाराधीन छ।

प्रस्तावित न्यायाधीशहरूको नियुक्ति प्रक्रिया अघि बढिरहेका बेला उजुरीकर्ताले उठाएका विषय र आरोपमाथि संसदीय सुनुवाइ समितिको छलफललाई चासोका साथ हेरिएको छ।