नासाको स्पेस-एक्स क्रु-१२ मिसन पृथ्वीमा: चार अन्तरिक्ष यात्रीसहितको यान बिहीवार अवतरण

काठमाडौँ । नासा र स्पेस–एक्सको संयुक्त अभियान ‘क्रु–१२’ मिसनका अन्तरिक्ष यात्रीहरूले आफ्नो लामो अन्तरिक्ष बसाइ समाप्त गर्दै पृथ्वीतर्फको फिर्ती यात्रा गरेका छन् । चार सदस्यीय टोली सवार स्पेस–एक्सको ड्रयागन अन्तरिक्ष यान बुधवार बिहान ८:०५ बजे अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन(आईएसएस)बाट अलग भएको थियो ।

गत फेब्रुअरी १३ मा फ्लोरिडास्थित केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट प्रक्षेपण गरिएको यस मिसनमा संलग्न टोली आफ्नो निर्धारित गन्तव्यमा फर्किएको हो । नासाकाअनुसार यो यान बिहीवार बिहान करिव ११:३४ बजे क्यालिफोर्नियाको तटीय क्षेत्रमा ‘स्प्लासडाउन’ (समुन्द्रमा अवतरण) भएको छ ।

यस मिसनमा नासाका अन्तरिक्ष यात्री जेसिका मेयर र ज्याक ह्याथवे, युरोपेली अन्तरिक्ष एजेन्सीका सोफी एडनोट तथा रोस्कोस्मसका कस्मोनाट आन्द्रे फेड्याएभ सहभागी थिए । केही महिनाको निरन्तर वैज्ञानिक अनुसन्धान र अन्तरिक्ष स्टेशनको सञ्चालन कार्यमा सक्रिय रहेका यी यात्रीहरूले पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दाको चुनौतीपूर्ण यात्रा पूरा गरेका छन् ।

अन्तरिक्षबाट सुरक्षित फिर्तीका लागि नासा र स्पेस–एक्सले आवश्यक सबै तयारी पूरा गरेको र यानको स्थिति सामान्य रहेको प्राविधिक टोलीले जनाएको छ । यो मिसनको सफलताले भविष्यका व्यावसायिक अन्तरिक्ष यात्रा र अनुसन्धानमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।