काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले चाँडै सिरियाको भ्रमण गर्ने तयारी भइरहेको टर्कीका विदेशमन्त्री हाकान फिदानले बताएका छन् । दमास्कस र अंकाराबीच राजनीतिक तथा आर्थिक सहकार्य थप विस्तार भइरहेका बेला एर्दोगानको सिरिया भ्रमणको तयारी अघि बढाइएको हो ।
सिरियाको सरकारी समाचार संस्था सानाकाअनुसार विदेशमन्त्री फिदानले आईतवार दमास्कसमा सिरियाका विदेश मामिला प्रमुख असद हसन अल–शिबानीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणका लागि आवश्यक वातावरण तयार पार्ने काम भइरहेको बताए । भेटवार्तामा दुवै अधिकारीले द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए । उनीहरूले राजनीतिक, कूटनीतिक, आर्थिक तथा सुरक्षा सहकार्यसहित ऊर्जा, शिक्षा, संस्कृति र शरणार्थीहरूको स्वदेश फिर्तीजस्ता विषयमा उच्चस्तरीय संयुक्त समिति सक्रिय बनाउने विषयमा समेत सहमति जनाएका छन् ।
शिबानीकाअनुसार उक्त समिति दुवै देशको संयुक्त नेतृत्वमा सञ्चालन हुनेछ । समितिले नियमित बैठक गर्ने तथा निर्णय कार्यान्वयनको अनुगमनका लागि स्थायी सचिवालय र विभिन्न क्षेत्रगत विशेष समितिहरू गठन गर्नेछ । टर्कीका विदेशमन्त्री फिदानले व्यापार तथा लगानीलाई सहज बनाउन दुई देशले विभिन्न संयन्त्र निर्माण गरिरहेको जानकारी दिए । यसअन्तर्गत लगानीका लागि वित्तीय सुविधा, भिसा, काम गर्ने अनुमति तथा प्रमाणपत्रसम्बन्धी प्रक्रिया सहज बनाउने विषय समेटिएका छन् ।
फिदानले ऊर्जा र कपडा क्षेत्रमा टर्कीका लगानीकर्ताको सिरियामा बलियो चासो रहेको पनि बताए । पूर्व सिरियाली सरकार सन् २०२४ डिसेम्बरमा पतन भएपछि दमास्कस र अंकाराबीचको सम्बन्ध तिब्र गतिमा विस्तार हुँदै आएको छ । पछिल्लो समय दुई देशबीच राजनीतिक संवादसँगै आर्थिक तथा सुरक्षा सहकार्यलाई समेत प्राथमिकता दिइँदै आएको छ ।































