उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिका-५ का १ सय ६५ परिवारलाई पोखरा महानगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ ।

महानगरपालिकाले ६ वटा ट्रकमार्फत पठाएको राहत सामग्री प्रभावित परिवारलाई वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष माधव अर्यालको रोहबरमा वितरण गरिएको राहत सामग्रीमा प्रतिपरिवार करिव ४० हजार रुपैयाँ बराबरका दैनिक उपभोग्य सामग्री छन् । चामल, तेल, लत्ताकपडा, सिरक, डसना तथा चम्चादेखि खाना पकाउने कुकरसम्मका सामग्री प्रभावित परिवारलाई उपलब्ध गराइएको छ । पोखरा महानगरपालिकाका नगर प्रहरी नायव निरीक्षक हरि थापाको नेतृत्वमा गएको टोलीले प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री हस्तान्तरण तथा वितरण गरेको हो ।

विपद्को कठिन समयमा ठूलो परिमाणमा व्यवस्थित राहत उपलब्ध गराएको भन्दै उत्तरगया गाउँपालिका अध्यक्ष अर्यालले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पोखरेली जनताप्रति आभार व्यक्त गरे । बाढीपछि विस्थापित परिवारका लागि नीलकण्ठ माध्यमिक विद्यालयमा होल्डिङ सेन्टरसमेत सञ्चालन गरिएको थियो । तत्काल खाद्यान्न अभाव भएपछि स्थानीय स्तरमै उपलब्ध चामल पकाएर प्रभावितलाई खाना खुवाइएको र त्यसपछि कालिका तथा नौकुण्ड गाउँपालिकाबाट खाद्यान्न सहयोग प्राप्त भएको अध्यक्ष अर्यालले बताए । अहिले गाउँपालिका राहत तथा पुन:स्थापनाको चरणमा रहेकाले देशभरबाट विभिन्न स्थानीय तह, गैरसरकारी संस्था, राजनीतिक दलका भ्रातृ संगठन तथा व्यक्ति र संस्थाबाट सहयोग प्राप्त भइरहेको अध्यक्ष अर्यालले जानकारी दिए ।

उनले भने, ‘अहिले हामी राहत र सहयोगको चरणमा छौँ । यस विपद्मा देशभरिबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, व्यक्ति, पोखरा महानगरपालिका लगायत विभिन्न नगरपालिका तथा स्थानीय तह, राजनीतिक दलका भ्रातृ संगठनलगायतबाट अभूतपूर्व सहयोग प्राप्त भएको छ । उहाँहरूले राहत सामग्री संकलन, हस्तान्तरण र पीडितसमक्ष पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्नुभएको छ । यस विपद्मा हामीले ठूलो मानवीय र भौतिक क्षति व्यहोरेका छौँ। हाम्रा परिवार तथा कार्यालयका सदस्यसहित ५ जनाको मृत्यु भएको छ भने शिक्षक र कर्मचारी गरी १० जनालाई गुमाएका छौँ । दुई सामुदायिक विद्यालय र एउटा संस्थागत विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् । वडा कार्यालय, स्वास्थ्य चौकी तथा पालिकाका कार्यालयहरू समेत बगरमा परिणत भएका छन् । स्वास्थ्य चौकीमा कार्यरत एक जना अनमी अझै बेपत्ता हुनुहुन्छ । पालिकाको एउटा सवारीसाधन र दुई वटा एम्बुलेन्स बगेका छन् । अहिले हामीसँग कुनै पनि सवारीसाधन छैन । दक्ष कर्मचारीको क्षतिले पालिकाको सेवा प्रवाहमा समेत गम्भीर असर परेको छ । पालिकामा करिब ७७४ जना बेपत्ता रहेको विवरण छ भने ११ जनाको पहिचान भएको छ । ६१४ घर पूर्ण रूपमा ध्वस्त भएका छन् र २२ वटा गोठमा क्षति पुगेको छ । करिव २ हजार परिवार प्रभावित भएका छन् । नदी तटीय क्षेत्रका सबै उमेर समूहका नागरिक प्रभावित भएका छन् । रसुवा जिल्लाभित्र रहेका विभिन्न जलविद्युत आयोजनाका बाहिरी संरचनाहरू समेत पूर्ण रूपमा ध्वस्त भएका छन्। यस विपद्ले भौतिक संरचना मात्र होइन, जिल्लाले लामो समय लगाएर निर्माण गर्दै आएको जनशक्ति र विकासको आधारमा समेत गम्भीर क्षति पुर्‍याएको छ ।’

भोटेकोशी बाढीले भने उत्तरगया गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । अध्यक्ष अर्यालकाअनुसार बाढीमा ७७४ जना अझै हराइरहेका छन् भने ११ जनाको पहिचान भएको छ । ६१४ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २२ वटा गोठमा क्षति पुगेको छ । करिव २ हजार परिवार प्रभावित भएका छन् । बाढीले दुई वटा सामुदायिक विद्यालय र एउटा संस्थागत विद्यालय, वडा कार्यालय, सामुदायिक स्वास्थ्य चौकी तथा गाउँपालिकाको कार्यालयमा समेत ठूलो क्षति पुर्‍याएको छ ।

गाउँपालिकाको एउटा सवारीसाधन र दुई वटा एम्बुलेन्ससमेत बाढीले बगाएको अध्यक्ष अर्यालले बताए । बाढीका कारण रसुवाका विभिन्न जलविद्युत आयोजनाका बाहिरी संरचनामा समेत क्षति पुगेको छ । विपद्को समयमा उद्धारका लागि आवश्यक पूर्व तयारी र राज्यका निकायबीच पर्याप्त समन्वय हुन नसकेको भन्दै अध्यक्ष अर्यालले आगामी दिनमा यसबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए । अहिले भने प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने, विस्थापितको व्यवस्थापन गर्ने र ध्वस्त संरचनाको पुन:स्थापनातर्फ स्थानीय तहले प्राथमिकता दिएको छ ।