भेरी अस्पतालमा शव गृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने क्षमताको नयाँ शव गृह निर्माण तथा विस्तार गरिने भएको छ ।

बाढी पहिरो र भूकम्प जस्ता प्राकृतिक विपद्का बेला एकै पटक धेरै शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्षमता बढाउने निर्णय गरेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले जानकारी दिए ।

उनका अनुसार, हाल भेरी अस्पतालको शव गृहमा एकै पटक छ वटा शव मात्र राख्न सकिने अवस्था छ । विपद्का समयमा शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सहज हुने गरी कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शव गृह निर्माण तथा विस्तारको प्रक्रिया अघि बढाइने भएको हो ।

 

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दर्नालले विपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन चुनौतीपूर्ण बन्ने अवस्थालाई ध्यानमा राखेर पर्याप्त क्षमताको शव गृह आवश्यक रहेको बताए । भोटेकोशीमा आएको बाढीबाट प्राप्त सिकाइका आधारमा भविष्यमा शव व्यवस्थापनमा समस्या नआओस् भन्ने उद्देश्यले अस्पतालमा आवश्यक पूर्वाधार विकास गर्न लागिएको उनले बताए ।

“अहिले भेरी अस्पतालमा छ जनाको शव व्यवस्थापन गर्न सकिने शव गृह छ । यसको क्षमता बढाएर ५० बनाउन मन्त्रालयले निर्णय गरेर परिपत्र पठाएको छ”, उनले भने, “यद्यपि बजेट भने पठाएको छैन, भेरी अस्पतालसँग यो संरचना बनाउन जमिन पर्याप्त छ ।”

उनका अनुसार, भेरी अस्पताल पश्चिम नेपालकै प्रेषण अस्पताल भएकाले दैनिक रूपमा आउने शवको सङ्ख्या तुलनात्मक रूपमा बढी भए पनि अहिलेसम्म व्यवस्थापनमा ठूलो समस्या देखिएको छैन । विपद्का समयमा भने एकै पटक धेरै शव आउन सक्ने भएकाले अहिलेको क्षमता पर्याप्त नहुने अवस्था छ ।

अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष डक्ट धितालले पर्याप्त क्षमताको शव गृह निर्माण भएपछि शवलाई सुरक्षित र व्यवस्थित रूपमा राख्न, पहिचान तथा परीक्षण गर्न र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सहज हुने बताए ।

उनले नयाँ शव गृहले विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य क्षमता बढाउनुका साथै फरेन्सिक सेवा र अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। सरकारको निर्णयलाई छिटो कार्यान्वयनमा लैजान पहल गरिने उनले बताए ।