वैदेशिक रोजगारको प्रलोभनमा लाखौं ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा प्रलोभनमा प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा गणेशमान चारधाम नगरपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने राज कुमार चौधरी र धनुषा मटिहानी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने रूपे शकुमार चौधरी पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये राजकुमारले पोल्याण्ड पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ६ लाख ३० हजार रूपियाँ र रूपेश कुमारले सिङ्गापुर पठाइदिन्छु भन्दै एक जना पीडितबाट १६ लाख रूपियाँ लिई सम्पर्कविहीन भएका थिए ।

पैसा लिई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं काँडाघारीबाट मङ्गलबार र रूपेश कुमारलाई काठमाडौं टेकुबाट बुधबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।