Hotel Panchthar Nepco Media

लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँचको मनोनयन

काठमाडौं । लक्की मिडिया हाउसको आयोजनामा यही असोज २५ गते ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ प्रदान गरिने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको हो ।

मोफसलमा रहेर पनि नेपाली सिनेजगत्को संरक्षण र जगेर्ना गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ‘चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने नाराका साथ मोफसलबाट पहिलो पटक अवार्ड आयोजना गर्न लागिएको हो ।

अवार्डका लागि आयोजकले आज उत्कृष्ट पाँचमा मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरेको छ ।जसमध्ये उत्कृष्ट गायिका, गायक, सङ्गीतकार, लेखन, छायाकार, सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो ।

उक्त १० विधाबाहेक पनि कार्यक्रमका अवसरमा जुरी, पपुलर लगायतका विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

वि.सं २०७१ मा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।