काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेनले कानुनअनुसार छुट नदिने अस्पताल प्रशासन बन्द गराउने चेतावनी दिएका छन् ।
आज सामाजिक संजालमा एक पोष्ट गर्दै कानुनअनुसार छुट नदिने अस्पताल प्रशासन बन्द गराउने चेतावनी दिएका हुन्।
मेयर बालेनले छुट सुविधा उपलब्ध गराउन अस्पताल प्रशासनलाई सात दिनको समयसीमा तोकेका छन्। साथै कानुनअनुसार छुट सुविधा उपलब्ध गराउनेतर्फ स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण समेत गराएको उनले बताएका छन्।
‘काठमाडौं महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौँ,’ मेयर बालेन सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘यदि, मन्त्रीज्यूले सात दिनभित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ ।’
काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा यस काठमाडौँ महानगरपालिकाबाट मिति २०८०।०२।०६ गते सार्वजनिक सूचना जारी भैसकेको छ ।