काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच आज भेटघाट हुँदै छ ।
हैदरावाद हाउसमा आज बिहान ११ः०५ बजेदेखि द्विपक्षीय भेटवार्ता तय भएको छ ।
हैदरावाद हाउसमा प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि साढे १० बजे महात्मा गान्धीको समाधि स्थल राजघाट जाने कार्यक्रम छ ।
आजै केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपसी हितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची तय भएको छ ।
प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गरेका छन् । त्यसपछि प्रधानमन्त्री प्रचण्डको भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने अन्तर्क्रियालाई आज नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।