काठमाडौ । विश्व बैङ्कले नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र-डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने भएको छ।
विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी भएका अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा आज बैङ्कको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा रामप्रसाद घिमिरे र बैङ्कका नेपाल, मालदिभ्स र श्रीलङ्का हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। बजेटरी सहायताको रूपमा उपयोग हुने उक्त रकम विपद् पुनर्स्थापना, पुनरुत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ।
अर्थमन्त्री पौडेल विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको ५५ औँ वार्षिक बैठकका सिलसिलामा दक्षिण एसिया क्षेत्रका गभर्नरहरूको संयुक्त बैठकमा सहभागी भएका थिए ।
आजै अर्थमन्त्री पौडेलसँग विश्व बैङ्क, एसियाली विकास बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरूसँग छुट्टाछुटै भेटवार्ता भएको छ।भेटवार्ताको क्रममा विश्व बैङ्कका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष श्री मार्टिन रेजर र कार्यकारी निर्देशक वेम्पी सुपुत्रसँग बहुपक्षीय सहायता परिचालनका विविध विषयमा छलफल भएको छ।
त्यसै गरी, एसियाली विकास बैङ्कका उपाध्यक्ष यिङमिन याङसँग पनि आजै अर्थमन्त्री पौडेलको विश्व बैङ्क मुख्यालयमा भेटवार्ता भएको छ। एसियाली विकास बैङ्क नेपालको मुख्य विकास साझेदारको भूमिकामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार एवम् सामाजिक विकासको क्षेत्रमा थप सहायता परिचालन गर्न आग्रह गरे । अर्थमन्त्री पौडेलसँग आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीको पनि भेटवार्ता भएको छ।































