नेपाली सेनालाई दियो सरकारले २ अर्ब रुपैया निर्वाचन गराउन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सुरक्षाको लागी र व्यवस्थापनका लागि नेपाली सेनालाई सरकारले करिब २ अर्ब रुपैयाँ बजेट छुट्याउने भएको छ। सरकारले नेपाली सेनालाई, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई पनि निर्वाचन सुरक्षा शीर्षकमा बजेट निकासा गरेको छ।

नेपाली सेनाका लागि निर्वाचन खर्च शीर्षकमा रक्षा मन्त्रालयअन्तर्गत १ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको पाइन्छ । अर्थ मन्त्रालय स्रोतका अनुसार सो रकम मुख्य गरी रासन, यातायात, हवाई गस्ती,तालिम, आकस्मिक परिचालन तथा पूर्वतयारीका काममा खर्च गरिनेछ।

समग्र सुरक्षा तयारी

निर्वाचन नजिकिँदै जाँदा सुरक्षा निकायहरूले पूर्वतयारी तीव्र बनाएका छन्। बजेट विनियोजनसँगै तालिम, रसद व्यवस्थापन र आकस्मिक परिचालन योजनालाई अन्तिम रूप दिइँदैछ। सरकारले निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत साधन उपलब्ध गराउने जनाएको छ।

७८ हजार सैनिक परिचालनको तयारी

निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले आफ्ना करिब ७८ हजार सैनिकलाई विभिन्न क्षेत्रमा खटाउने तयारी गरेको छ। आवश्यक परेमा स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै सेनाले सहयोगी भूमिका निर्वाह गर्ने बताइएको छ।

सुरक्षा निकायका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन बहुस्तरीय सुरक्षा योजना तयार गरिएको छ, जसमा नेपाली सेनाको भूमिका विशेष रूपमा संवेदनशील र रणनीतिक क्षेत्रमा केन्द्रित रहनेछ।

 

हेलिकोप्टर परिचालनमा ठूलो खर्च

सुरक्षा स्रोतका अनुसार सेनाको निर्वाचनसम्बन्धी खर्चको ठूलो हिस्सा हेलिकोप्टर परिचालन र हवाई गस्तीमा जानेछ। निर्वाचन अवधिभर आकस्मिक सुरक्षा चुनौतीको सामना गर्न सेनाले चारवटा सुरक्षा मुकाम तोकी हेलिकोप्टरलाई ‘स्ट्यान्डबाइ’ अवस्थामा राख्ने योजना बनाएको छ।

दुर्गम र संवेदनशील क्षेत्रहरूमा छिटो पहुँच सुनिश्चित गर्न हवाई गस्तीलाई प्राथमिकतामा राखिएको जनाइएको छ।