वाणिज्य बैंकहरुको सम्पत्ति कति पुग्यो ?

काठमाडौं। वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७४ खर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा हाल संचालनमा रहेका २० वाणिज्य बैंकको कुल सम्पत्ति ७४ खर्ब ६८ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको कुल सम्पत्ति गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११.२९ प्रतिशतले बढी हो ।

सबैभन्दा धेरै सम्पत्ति ग्लोबल आइएमई बैंकको रहेको छ । यसअवधिमा बैंकको कुल सम्पत्ति १४.८४ प्रतिशतले बढेर ६ खर्ब ४९ करोड ९७ लाख ५४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको सम्पत्ति ५ खर्ब ६५ अर्ब ९७ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार दोस्रोमा नबिल बैंक रहेको छ । बैंकसँग हाल ६ खर्ब ६ अर्ब ६० करोड ५४ लाख रुपैयाँको सम्पत्ति रहेको छ । जुन आर्थिक वर्षको तुलनामा १४.०३ प्रतिशतले बढी हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुन सम्पत्ति ५ खर्ब ८० अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ५ खर्ब २० अर्ब ६३ करोड, कुमारी बैंकको ४ खर्ब ७७ अर्ब, लक्ष्मी सनराइज बैंकको ४ खर्ब १७ अर्ब, हिमालयन बैंकको ३ खर्ब ९६ अर्ब, प्रभू बैंकको ३ खर्ब ७९ अर्ब, कृषि विकास बैंकको ३ खर्ब ६६ अर्ब र नेपाल बैंकको ३ खर्ब ६४ अर्ब रहेको छ ।

त्यस्तै, सिद्धार्थ बैंकको ३ खर्ब २१ अर्ब, एनएमबि बैंकको ३ खर्ब २० अर्ब, प्राइम बैंकको ३ खर्ब, एभरेष्ट बैंकको २ खर्ब ९१ अर्ब, सानिमा बैंकको २ खर्ब ४५ अर्ब, सिटिजन बैंकको २ खर्ब ३६ अर्ब, नेपाल एसबिआई बैंकको २ खर्ब ३१ अर्ब, माछापुच्छ्रे बैंकको २ खर्ब ४ अर्ब र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ खर्ब ६३ अर्ब १ करोड रुपैयाँ छ ।

यता एनआईसी एशिया बैंकको सम्पत्ति घटेको छ । चालु आर्थिक वर्षको चार महिनासम्मको अवधिमा बैंकको सम्पत्ति १२.२७ प्रतिशतले घटेर ३ खर्ब ९२ अर्ब ८६ करोड ४० लाख रुपैयाँ छ ।