काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत सेप्टेम्बरसम्म भिजिट भिसामा गएर वैदेशिक रोजगारी गरिरहेका नेपालीलाई श्रम स्वीकृति दिने भएको छ । ती श्रमिकलाई नेपाली दूतावास मार्फत श्रम स्वीकृति दिन लागिएको हो ।
‘नेपालबाट श्रम स्वीकृति नलिइ गएका नेपाली श्रमिकलाई दूतावास मार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएको श्रम मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए ।
श्रम स्वीकृति नलिइ वैदेशिक रोजगारीमा गएका नेपालीको यकिन विवरण श्रम मन्त्रालयसँग नभएपनि नेपाली दूतावासहरूका अनुसार कम्तीमा तीन लाख नेपाली श्रम स्वीकृति विना विदेशमा श्रम गरिरहेका छन् ।
श्रममन्त्री भण्डारीका अनुसार पारिवारिक पुनर्मिलन, श्रमिकको कल्याणकारी सुविधा र सामाजिक सुरक्षाको दायराभित्र ल्याउनका लागि श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको हो ।






























