चितवन। भरतपुरको सिमलतालबाट शुक्रबार बिहान त्रिशूली नदीमा खसेका दुई वटा बस अझै फेला परेका छैन।
शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी कार्य भइरहेको छ। खोजी कार्यको लागि नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर तथा नेपाल प्रहरी गरि पाँच सय बढी सुरक्षाकर्मी खटिएका छन्।
आजदेखि घटनास्थल र तल तिर सबै सम्भावित स्थानहरूसँगै देवघाटमा समेत खोजी कार्य जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए।
दुईवटा बस फेला नपरेपछि आजबाट ठुलो चुम्बक ९म्याग्नेट० को प्रयोग गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी अब ठूलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी दिएको हो।
घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठूलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको हो।
शनिबार बेपत्ता यात्रीमध्ये तीनजनाको शव भेटिएको छ। नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ। गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ।
परियारको भरतपुरबाट काठमाडौं जाने क्रममा दुर्घटनामा परेका थिए। त्यस्तै, माझी काठमाडौंबाट सर्लाही जाँदै गर्दा दुर्घटनामा परेका थिए।
यसअघि, शनिबार पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव बसका यात्रु ऋषि पाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा पहिचान खुलेको थियो।
शुक्रबार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका थिए।































