‘सामाजिक सुरक्षा प्रणालीलाई व्यावहारिक बनाउन लागौँ’ : देवेन्द्र लामिछाने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन उनीहरूको वास्तविक आय, कामको प्रकृति र आर्थिक क्षमताका आधारमा व्यावहारिक नीति बनाउनुपर्ने बताएका छन् ।

नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षामा श्रमिकको दर्ता सङ्ख्या बढाउनु मात्र पर्याप्त नहुने बताउँदै उनीहरूको योगदान गर्न सक्ने अवस्था र रोजगारीको निरन्तरतासमेत ध्यानमा राख्नुपर्ने बताए । उनका अनुसार रोजगारदाता पनि विभिन्न आर्थिक चुनौतीबाट गुज्रिरहेका छन् । व्यवसायको लागत, बैंक ब्याजदर, कर प्रशासनका प्रक्रिया, बजारको अनिश्चितता, मागमा हुने उतारचढाव, विद्युत तथा उत्पादन लागत र कार्यशील पुँजीको अभावले व्यवसाय सञ्चालन कठिन बन्दै गएको छ । त्यसैले सामाजिक सुरक्षा प्रणालीको कार्यान्वयन सहज, सरल र व्यावहारिक हुनुपर्छ । लामिछानेले श्रमिकको सुरक्षा र रोजगारदाताको आर्थिक क्षमतालाई एक अर्काको विरोधी विषयका रूपमा हेर्न नहुने बताए । दुवै पक्षलाई सन्तुलित बनाएर अगाडि बढ्नु नै दिगो सामाजिक सुरक्षा प्रणालीको आधार भएको बताउँदै उहाँले  नेपाल चेम्बर अफ कमर्स सामाजिक सुरक्षा प्रणालीको विस्तार, श्रमिकको सम्मान, सुरक्षित कार्यस्थल र जिम्मेवार रोजगार सम्बन्धको पक्षमा रहेको बताए । सामाजिक सुरक्षा प्रणाली बलियो हुँदा कर्मचारीको संस्थाप्रतिको विश्वास, दीर्घकालीन संलग्नता, श्रम उत्पादकत्व र संस्थागत स्थायित्वमा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ । यद्यपि यसको कार्यान्वयन गर्दा विशेष गरी सूक्ष्म, साना तथा मझौला उद्यमहरूको आर्थिक क्षमतालाई ध्यान दिनुपर्ने उनले बताए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले नोभेम्बर २०२६ मा प्रकाशित गरेको यातायात क्षेत्रसम्बन्धी अध्ययनलाई उद्धृत गर्दै उनले नेपालको यातायात क्षेत्रमा करिब ७३ प्रतिशत रोजगारी अनौपचारिक रहेको जानकारी दिए । अध्ययनमा सर्वेक्षण गरिएका १६० श्रमिकमध्ये कसैसँग पनि लिखित रोजगारी सम्झौता नभएको र तीन जना मात्र सामाजिक सुरक्षा कोषमा आबद्ध रहेको उल्लेख गरिएको उनले बताए । व्यवसाय दर्ता हुनु र श्रमिकको रोजगार सम्बन्ध औपचारिक हुनु फरक विषय रहेको उल्लेख गर्दै उनले कानुनी व्यवस्था मात्र बनाएर सामाजिक सुरक्षा प्रणाली प्रभावकारी हुन नसक्ने बताए । त्यसका लागि सरल प्रक्रिया, पर्याप्त जानकारी र रोजगारदाता तथा श्रमिक दुवैका लागि विश्वसनीय प्रणाली आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने,‘अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउनु भनेको केवल दर्ता सङ्ख्या बढाउनु मात्र होइन । उनीहरूको वास्तविक आय, कामको प्रकृति, आर्थिक क्षमता, रोजगारीको निरन्तरता र योगदान गर्न सक्ने अवस्थालाई बुझेर नीतिगत व्यवस्था गर्नु आवश्यक छ । अर्कोतर्फ, रोजगारदाता पनि आर्थिक चुनौतीबाट मुक्त छैनन् । व्यवसायको लागत, बैंक ब्याजदर, कर प्रशासनका प्रक्रिया, बजारको अनिश्चितता, मागमा हुने उतारचढाव, विद्युत् तथा उत्पादन लागत र कार्यशील पुँजीको अभावले व्यवसाय सञ्चालन गर्न निकै कठिन बनाइरहेको अवस्था छ । त्यसैले सामाजिक सुरक्षा प्रणालीको कार्यान्वयन सहज, सरल र व्यावहारिक हुन आवश्यक छ । हामीले श्रमिकको सुरक्षा र रोजगारदाताको आर्थिक क्षमतालाई एक अर्काको विरोधी विषयका रूपमा हेर्ने सोचबाट बाहिर आउनुपर्छ । यी दुवै पक्षलाई सन्तुलित बनाएर अगाडि बढ्नु नै दिगो सामाजिक विकास र प्रभावकारी सामाजिक सुरक्षा प्रणालीको आधार हो । नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था भएका नाताले हामी सामाजिक सुरक्षा प्रणालीको विस्तार, श्रमिकको सम्मान, सुरक्षित कार्यस्थल र जिम्मेवार रोजगार सम्बन्धको पक्षमा छौँ । सामाजिक सुरक्षा प्रणाली बलियो हुनु निजी क्षेत्रका लागि पनि लाभदायक छ । यसले कर्मचारीको संस्थाप्रतिको विश्वास, दीर्घकालीन संलग्नता, श्रम उत्पादकत्व र संस्थागत स्थायित्वमा योगदान पुर्‍याउन सक्छ। तर यसको कार्यान्वयन गर्दा व्यवसायको वास्तविक अवस्था, विशेष गरी सूक्ष्म, साना तथा मझौला उद्यमहरूको क्षमता ध्यानमा राख्न आवश्यक छ ।’

लामिछानेले सामाजिक सुरक्षा कोषले रोजगारदाता तथा श्रमिकका अनुभव, समस्या र सुझाव नियमित रूपमा सुन्ने संस्थागत संयन्त्र बनाउनुपर्नेमा जोड दिए। निजी क्षेत्रका संस्थाहरूसँग सहकार्य गरी आबद्धता प्रक्रिया सरल बनाउने, योगदान गणना तथा भुक्तानी सहज गर्ने, दाबी भुक्तानी छिटो गर्ने र योजनाबारे स्पष्ट जानकारी उपलब्ध गराउनुपर्ने उनले बताए ।

सामाजिक सुरक्षा प्रणालीलाई केवल कानूनी बाध्यता वा प्रशासनिक प्रक्रियाका रूपमा सीमित गर्न नहुने उल्लेख गर्दै उनले श्रमिक र रोजगारदाता दुवैले यसलाई भविष्य सुरक्षित गर्ने अवसरका रूपमा अनुभव गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ ।