काठमाडौं । कर्णाली प्रदेशमा यतिबेला राष्ट्रिय खेलकुदको माहोल छ । औपचारिक रुपमा मंसिर १६ गते उद्घाटन हुने १०औं राष्ट्रिय खेलकुदको प्रतिस्पर्धाहरू भने ८ मंसिर देखि नै सुरु भइसकेको छ ।
कर्णाली प्रदेशको सुर्खेतलाई मुख्य केन्द्र बनाएर आयोजना गरिएको १०औं राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको नेपालगन्जमा सुरु भएको पौडी प्रतियोगिता आज (११) मंसिरमा समापन हुँदैछ ।
नयाँ प्रतिभाको पहिचान गर्दै भविष्यका लागि स्टार खेलाडी जन्माउने, सम्बन्धित ठाउँको पहिचान र गौरव बढाउने र राष्ट्रिय एकताको रुपमा राष्ट्रिय खेलकुदलाई हेर्ने गरिन्छ ।
गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना भएको चार वर्षपछि अन्तत: कर्णाली प्रदेशले १०औंको आयोजना गर्दै राष्ट्रिय खेलकुदको आयोजकमा आफ्नो नाम पनि लेखाएको छ ।
२०८१ सालमै हुनुपर्ने १०औं राष्ट्रिय खेलकुद पटक-पटक मिति तोकेर पनि हुन नसक्दा पाँचौं पटक तोकिएको मितिमा आयोजना हुँदैछ ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका लागि खेलकुदको महाकुम्भ मात्र होइन, आफ्नो क्षमता, पूर्वाधार र सम्भावना देखाउने अवसर पनि हो ।
पहिलो पटक कर्णाली क्षेत्रमा आयोजना भइरहेको १०औं राष्ट्रिय खेलकुदको बारेमा १० बुँदामा बुझाउने प्रयास यहाँ गरिएको छ ।
१. पहिलो पटक कर्णालीमा आयोजना
बृहत् राष्ट्रिय खेलकुदको साढे चार दशक लामो इतिहासमा पहिलो पटक कर्णालीले राष्ट्रिय खेलकुदको आयोजना गरिरहेको छ । नेपालको खेलकुद इतिहासमा पहिलो पटक कर्णाली प्रदेशले राष्ट्रिय खेलकुदको आयोजना गर्ने अवसर पाएको हो ।
अञ्चल, विकास क्षेत्र हुँदै प्रदेश संरचनामा राष्ट्रिय खेल आयोजना भइसक्दा कर्णाली प्रदेशले बल्ल १०औं संस्करणमा आएर राष्ट्रिय खेलकुद आयोजना गर्ने अवसर पाएको हो ।
विसं २०३८ सालमा राजधानी काठमाडौंबाट पहिलो राष्ट्रिय खेलकुदको सुरुवात भएको थियो । २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद तत्कालीन् गण्डकी अञ्चलको पोखरामा आयोजना भयो । तेस्रो संस्करण २०४२ सालमा वीरगंजमा सम्पन्न भयो । चौथो संस्करण हुनका लागि १३ वर्ष पर्खनुपर्यो । चौथो संस्करण २०५५ सालमा नेपालगन्जमा आयोजना भयो ।
यस्तै पाँचौ संस्करण त्यसको १० वर्षपछि २०६५ सालमा राजधानी काठमाडौंमा आयोजना भयो । देशको राजनीतिक आर्थिक कारणले गर्दा पाँचौं संस्करणका लागि पनि लामो समय कुर्नुपर्यो ।
२०६८ सालमा छैटौं संस्करण धनगढीमा आयोजना हुँदा २०७३ सालमा सातौं संस्करण विराटनगरमा भएको थियो । यस्तै आठौं संस्करण २०७५-७६ मा लुम्बिनी अञ्चलको बाँके केन्द्र बनाएर सञ्चालन भयो । नवौं संस्करण गण्डकी प्रदेशको पोखरामा भयो ।
१०औंसम्म आइपुग्दा काठमाडौं, पोखरा र नेपालगन्जमा दुई-दुई पटक राष्ट्रिय खेलकुद आयोजना भयो भने वीरगंज, विराटनगर र धनगढीमा एक-एक पटक राष्ट्रिय खेलकुद आयोजना भएको इतिहास छ । अहिले कर्णाली प्रदेशले पहिलो पटक राष्ट्रिय खेलकुद आयोजना गरिरहेको छ ।
धेरै खेल एकैपटक एकै स्थानमा आयोजना हुने नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल मेलाको रुपमा रहेको बृहत् राष्ट्रिय खेलकुदको १०औं संस्करण कर्णाली प्रदेशमा आयोजना हुँदैछ ।
भौगोलिक विकटता, पूर्वाधारको अभाव र विकासका दृष्टिले पछाडि परेको मानिने कर्णालीका लागि राष्ट्रिय खेलकुद आयोजना गर्नु आफैंमा महत्वपूर्ण उपलब्धि हो ।
२. आठ दिनअघि नै खेलहरू सुरुवात
१०औं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ । तर औपचारिक उद्घाटन हुनुभन्दा आठ दिनअगाडि नै विभिन्न खेलहरू सुरु भइसकेको छ ।
कूल ३२ खेल समावेश गरिएकोमा ५ खेलको प्रतिस्पर्धा मंसिर ८ गतेदेखि नै सुरु गरिएको थियो । एकै पटक धेरै खेल आयोजना गर्दा खेलाडीहरू धेरै हुने हुँदा बसोबास लगायत व्यवस्थापनमा कठिन हुने भएकोले यस पटक एक साता अघि देखि नै विभिन्न खेलको प्रतिस्पर्धा सुरु गरिएको थियो ।
ओलम्पिक र एसियन गेम्स जस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताकै शैलीमा यस पटक पुरुष फुटबल, महिला बास्केटबल, पुरुष र महिला क्रिकेट, पौडी, टेनिस जस्ता खेलहरू सुरुमै आयोजना गरियो । यस्तै त्यस बाहेक बक्सिङ, जिम्नयास्टिक, शारीरिक सुगठन जस्ता खेलको प्रतिस्पर्धा पनि सुरु भइसकेको छ ।
१६ मंसिरमा औपचारिक उद्घाटन हुनुअघि नै १२ खेलको प्रतिस्पर्धा सकिइसक्नेछ ।
३. पहिलो पटक ईस्पोर्ट्स समावेश
१०औं राष्ट्रिय खेलकुदमा परम्परागत खेलका लागि आधुनिक डिजिटल खेलको रुपमा पहिलो पटक ई–स्पोर्ट्स समावेश गरिएको छ । ई–स्पोर्ट्सलाई पहिलो पटक राष्ट्रिय खेलकुदमा समावेश गरिएको छ ।
नवौं राष्ट्रिय खेलकुदमा कूल ३६ खेललाई प्रतिस्पर्धात्मक खेलको रुपमा समावेश गरिएको थियो ।
नवौंमा समावेश भएका पाँच खेल प्याराग्लाइडिङ, फेन्सिङ, गल्फ, ट्रायथलन र यस पटक १०औंमा समावेश छैन । राष्ट्रिय खेलकुदमा इन्ट्री मारेको इस्पोर्ट्स १०औंमा समावेश गरिएको एक मात्र नयाँ खेल हो । ईस्पोटर्स अन्तर्गत इ फुटबल र पब्जीमा प्रतिस्पर्धा हुनेछ ।
डिजिटल माध्यमबाट खेलिने खेललाई पनि राष्ट्रिय खेलकुदको हिस्सा बनाइनुले नेपाली खेलकुदमा बदलिँदो समय र नयाँ पुस्ताको रुचिलाई सम्बोधन गर्ने प्रयासका रूपमा लिन सकिन्छ ।
मुख्य गरी शारीरिक प्रतिस्पर्धामा आधारित खेलहरू मात्र समावेश हुँदै आएकोमा यस पटक ई–स्पोर्ट्सको प्रवेशले खेलकुदको दायरा फराकिलो बनाएको छ र यसले प्रविधिमा आधारित नयाँ पुस्तालाई पनि राष्ट्रिय खेलकुदसँग जोड्ने सम्भावना राख्छ ।
डिजिटल प्रविधिको विकाससँगै विश्वभर लोकप्रिय हुँदै गएको ई–स्पोर्ट्सलाई राष्ट्रिय खेलकुदमा समावेश गर्नु नेपाली खेलकुदको बदलिँदो स्वरूपको संकेत हो ।
विशेषगरी डिजिटल क्षेत्रमा रुचि राख्ने युवाका लागि यसले आफ्नो क्षमता प्रदर्शन गर्ने नयाँ मञ्च उपलब्ध गराउने अपेक्षा छ ।
४. कर्णालीसहित दुई प्रदेशमा खेल सञ्चालन : सात जिल्लामा खेल
१०औं राष्ट्रिय खेलकुदको मुख्य आयोजना कर्णाली प्रदेशमा हुने भएपनि कर्णाली प्रदेश बाहिर पनि केही खेल हुनेछ । यस पटक कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन भइरहेका छन् । कर्णालीमा ५ र लुम्बिनीमा २ जिल्लामा खेल आयोजना हुनेछ ।
प्रतियोगिता कर्णाली प्रदेशमा केन्द्रित रहे पनि सबै खेल कर्णालीमै आयोजना हुने छैनन् । खेल पूर्वाधारको उपलब्धता र प्रतियोगिताको व्यवस्थापनलाई ध्यानमा राख्दै पौडी, सुटिङ, टेनिस र खोखोका प्रतिस्पर्धा लुम्बिनी प्रदेशमा हुनेछ ।
कर्णाली प्रदेशको सुर्खेत सहित सल्यान, दैलेख, कालिकोट,रुकुम पश्चिम गरी ५ र लुम्बिनीको दुई गरी कूल ७ जिल्लामा १०औंको खेल हुनेछ ।

सुर्खेतमा सबैभन्दा धेरै २३ खेल सञ्चालन हुनेछ भने सल्यानमा जुडो र कुस्ती, कालिकोटमा बुद्धिचाल, दैलेखमा फुलकन्ट्याक्ट कराते तथा रुकुम पश्चिममा शारीरिक सुगठनको खेल हुनेछ ।
पौडी र सुटिङ बाँकेको नेपालगन्ज तथा टेनिस र खोखो बर्दियामा हुनेछ । टेनिस बर्दियाको गुलरिया र खो खो भुरीगाउँमा हुनेछ ।
सुर्खेत रंगशालमा हातामै १०औं राष्ट्रिय खेलकुददलाई मध्यनजर गर्दै पौडी पोखरी निर्माण गरिएपनि पौडी प्रतिस्पर्धा नेपालगन्जमा गर्दा यसले बहस समेत सिर्जना गरेको छ ।
५. ३२ खेलमा ३८४ इभेन्ट्स
१०औं राष्ट्रिय खेलकुदमा कूल ३२ खेलमा ३८४ इभेन्टमा प्रतिस्पर्धा हुँदैछ । यस पटक खेल संख्या घटेपनि इभेन्टको संख्या भने धेरै घटेको छैन । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश हुँदा ३९१ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । यस पटक ५ खेल घटेपनि ३८४ इभेन्ट समावेश छ ।
यसमा पौडी र एथ्लेटिक्समा सबैभन्दा धेरै इभेन्ट समावेश छन् । पौडीमा ४६ र एथ्लेटिक्समा ३७ इभेन्ट समावेश छ ।
यस्तै मास गेमको रुपमा रहेको फुटबल, क्रिकेट, भलिबल, कबड्डी, खो खो, ह्यान्डबल, हक्की, रग्बीमा महिला र पुरुष गरी २-२ इभेन्ट हुनेछन् भने बास्केटबलमा फुलकोर्ट र थ्री अन थ्री गरी दुई इभेन्टमा महिला र पुरुषको गरी कूल ४ इभेन्ट हुनेछ ।
६. १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा
१०औं राष्ट्रिय खेलकुदमा समावेश भएको ३८४ इभेन्टमा कूल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । जसमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदक वितरण गरिनेछ ।
१०औंमा कति खेलाडी समावेश छन् आधिकारिक जानकारी आयोजकले सार्वजनिक नगरेपनि ६ हजार भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने अनुमान छ ।
७. चार पटक मिति सर्यो पाँचौ पटक भयो
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता चार पटक मिति सारिएपछि पाँचौ पटक तोकिएको मितिमा आयोजना हुँदैछ ।
पोखरामा नवौं राष्ट्रिय खेलकुद समापनको अवसरमा २०८१ साल मंसिरमा कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद आयोजना गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो । तर दुई वर्षपछि हुनुपर्ने दशौं राष्ट्रिय खेलकुद अन्तत: चार वर्षपछि भएपनि आयोजना भयो ।
सुरुमा तोकिएको मितिमा हुन नसकेको १०औं बारम्बार मिति सर्दै २०८३ मंसिरमा आइपुगेको हो ।
१०औं राष्ट्रिय खेलकुदका लागि पहिलोपटक २०८१ मंसिर २ देखि ९ गतेसम्मको मिति तय गरिएको थियो । तर पूर्वाधार निर्माण तथा तयारी पूरा हुन नसकेपछि प्रतियोगिता स्थगित भयो । त्यसपछि पनि पटकपटक मिति घोषणा भए, तर प्रतियोगिता हुन सकेन ।
२०८१ कै मंसिरमा हुन नसकेपछि २०८१ चैत २३ देखि ३० गतेसम्म गर्ने भनेर सारिएको थियो । त्यो मितिमा पनि सम्भव नभएपछि २०८२ जेठ ३ देखि १० सम्म तेस्रो पटक र २०८२ फागुन १ देखि ७ चैतका लागि चौथो पटक मिति तोकियो । तर विभिन्न कारणले गर्दा हुन सकेन ।
देशको राजनीतिक अवस्था र सरकार परिवर्तन हुँदा विभिन्न बहानाले गर्दा तोकिएको समयमा हुन सकेन । चार पटक मिति सार्दै पाँचौ पटक तोकिएको मितिमा १०औं राष्ट्रिय खेलकुद सञ्चालन भएको हो ।
यसले नेपाली खेलकुद प्रशासनको ढिलासुस्ती र आयोजना व्यवस्थापनको चुनौतीलाई समेत उजागर गरेको छ ।
८. एनआरएनएसहित ११ टोलीको सहभागिता
१०औं राष्ट्रिय खेलकुदमा पनि नवौंमा जस्तै सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ ।
नेपालगन्जमा भएको आठौं संस्करणदेखि एनआरएनएले पनि राष्ट्रिय खेलकुदमा सहभागी जनाउँदै आएको छ र लगातार तेस्रो पटक एनआरएनएका खेलाडीले राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्दैछन् ।
बृहत् खेलकुदमा देशभरका खेलाडीलाई एउटै थलोमा प्रतिस्पर्धा गर्ने अवसर दिएको छ । प्रदेशहरूमा रहेको उदाउँदो प्रतिभा, विभागीय टोलीको दबदबा अनि विदेशमा रहेका नेपाली खेलाडीको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।
राष्ट्रिय खेलकुद खेलाडीका लागि आफ्नो क्षमता प्रमाणित गर्ने महत्वपूर्ण मञ्च हो । राष्ट्रिय टोलीमा स्थान बनाउनेदेखि भविष्यका अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आफ्नो सम्भावना देखाउने अवसर पनि यसै प्रतियोगिताले प्रदान गर्छ।
त्यसैले पदक तालिकामा माथि रहने प्रतिस्पर्धासँगै नयाँ प्रतिभाको पहिचान पनि यसको महत्वपूर्ण पक्ष हो ।
९. कर्णालीको पूर्वाधार : कर्णालीको खेलकुद इतिहासमा नयाँ अध्याय
कर्णालीमा १०औं राष्ट्रिय खेलकुद आयोजना हुँदा त्यहाँको गौरवका रूपमा खेल पूर्वाधार पनि रहेको छ । १०औं राष्ट्रिय खेलकुदलाई लक्षित गरी सुर्खेत रंगशाला लगायत अन्य खेल पूर्वाधार निर्माण तथा स्तरोन्नति गरिएको छ । जुन कर्णालीको दीर्घकालीन सम्पत्ति पनि बन्नेछ ।
१०औं राष्ट्रिय खेलकुदको आयोजना कर्णालीका लागि केवल प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी होइन, वर्षौंदेखि खेलकुद पूर्वाधार र अवसरको प्रतीक्षामा रहेको प्रदेशले आफ्नो सामर्थ्य प्रमाणित गर्ने अवसर पनि हो ।
यस प्रतियोगिताको मुख्य आकर्षण सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हो । प्रदेशकै गौरवको आयोजनाका रूपमा निर्माण गरिएको रंगशाला औपचारिक रूपमा सोमबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–८ मा अवस्थित रंगशाला कुल १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ लागतमा निर्माण भएको हो भने यसको क्षमता १० हजार रहेको छ ।
करिब ९ बिघा क्षेत्रफलमा फैलिएको रंगशालाको शिलान्यास तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले २०७८ मंसिर २० गते गरेका थिए ।
यस रंगशालाले कर्णालीको खेलकुद विकासमा नयाँ सम्भावना देखाएको छ । राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सक्ने पूर्वाधार निर्माण हुनु प्रदेशका खेलाडीका लागि पनि महत्वपूर्ण उपलब्धि हो ।
कर्णाली प्रदेशका मुख्य मन्त्री मंगल बहादुर शाही र सामाजिक विकास मन्त्री जितबहादुर मल्लले कर्णाली रंगशाला प्रदेशको गौरव र पहिचानसँग जोडिएको संरचना भएको र यो प्रदेशको खेलकुद भविष्यसँग जोडिएको महत्वपूर्ण सम्पत्ति भएको बताए ।
यसले कर्णालीमा खेलकुदको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने र रंगशालाको उचित संरक्षण, व्यवस्थापन र नियमित रुपमा प्रभावकारी सञ्चालन गर्नुपर्ने उनीहरूको जोड थियो ।
यसअघि अन्य स्थानमा राष्ट्रिय खेलकुद आयोजना हुँदा प्रायः स्थापित खेल पूर्वाधार भएका प्रदेशले पाउँदै आएका थिए । कर्णालीमा भने १०औं खेलकुदलाई नै लक्षित गर्दै खेलकूद पूर्वाधार निर्माण गरिएको छ ।
कर्णालीमा मुख्य रंगशाला बाहेक भलिबल कभर्डहल, पौडी पोखरी लगायत खेलकुद संरचना बनेको छ ।

१०. कर्णालीको पर्यटन र आर्थिक विकासमा अवसर
कर्णालीलाई सधैं दुर्गम र विकट भूगोलको रुपमा हेरिँदै आएको छ । तर पछिल्लो समय फ्रेन्चाइज खेलकुद देखि अन्य प्रतियोगितामा पनि कर्णाली नाम खेलकुदमा ब्रान्ड बन्दै आएको छ ।
भलिबल र क्रिकेट फ्रेन्चाइजमा कर्णालीले छुट्टै पहिचान बनाइसकेको छ । यस्तै कर्णालीको पर्यटन र संस्कृतिमा पनि व्यापकता छ । बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता नै आयोजना भएपछि यसले कर्णालीको पर्यटन प्रवर्द्धन, स्थानीय व्यापार, रोजगारी र आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय खेलकुदको सबैभन्दा महत्वपूर्ण पक्ष यसको खेलकुदबाहिरको प्रभाव पनि हो । प्रतियोगिताले कर्णालीको पर्यटन र आर्थिक गतिविधि विस्तारका लागि अवसर सिर्जना गर्नेछ ।
प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक, खेल पदाधिकारी, सञ्चारकर्मी र दर्शकको आगमनले स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, बजार तथा अन्य व्यवसायमा चहलपहल बढाउने सम्भावना छ । प्रतियोगिताका लागि आउने पाहुनाले कर्णालीका पर्यटकीय गन्तव्यबारे जानकारी पाउने र भविष्यमा पर्यटकका रूपमा फर्किने वातावरणसमेत बन्न सक्छ ।
प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावना बोकेको कर्णालीलाई राष्ट्रियस्तरमा चिनाउने यो राम्रो अवसर हो । रारा ताल, शे–फोक्सुन्डो, कुपिण्डे ताल, काँक्रेविहारलगायत पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा पनि राष्ट्रिय खेलकुदले सहयोग पुर्याउन सक्छ ।
तर प्रतियोगिता सकिएपछि १०औंका लागि निर्माण गरिएका खेल पूर्वाधारको नियमित उपयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना, खेल पर्यटनको विकास र स्थानीय व्यवसायसँगको सहकार्यलाई निरन्तरता दिन सके मात्र यसको दीर्घकालीन लाभ लिन सकिन्छ ।
आयोजना मात्र होइन, विरासत पनि महत्त्वपूर्ण
१०औं राष्ट्रिय खेलकुद कर्णालीका लागि ऐतिहासिक अवसर हो । पहिलोपटक राष्ट्रिय खेलकुद आयोजना गर्नु, नयाँ खेललाई समावेश गर्नु र आधुनिक खेल पूर्वाधार निर्माण गर्नु यसका महत्वपूर्ण उपलब्धि हुन् ।
यद्यपि पटकपटक मिति सर्नु, पूर्वाधार निर्माणमा भएको ढिलाइ र व्यवस्थापकीय चुनौतीले नेपाली खेलकुद प्रशासनको कमजोरी पनि देखाएको छ । अब प्रतियोगिता सम्पन्न गर्नु मात्र पर्याप्त हुँदैन, यसको सफलतासँगै कर्णालीमा खेलकुदको दिगो विकास कसरी गर्ने भन्ने प्रश्न पनि महत्वपूर्ण हुन्छ ।
कर्णालीका खेलाडीले आफ्नै प्रदेशमा राष्ट्रियस्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् । यसले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नेछ । प्रदेशमा खेलकुद गतिविधि बढाउन, नयाँ खेलाडी उत्पादन गर्न र खेल पूर्वाधारको उपयोग सुनिश्चित गर्न पनि यसले प्रेरणा दिने अपेक्षा गर्न सकिन्छ ।
कर्णालीका लागि यो राष्ट्रिय खेलकुद एउटा प्रतियोगिता मात्रै होइन, आफ्नो पहिचान स्थापित गर्ने, खेलकुदको नयाँ सम्भावना खोल्ने र विकासको यात्रालाई गति दिने अवसर हो ।
राष्ट्रिय खेलकुदको इतिहासमा पहिलोपटक कर्णालीले प्रतियोगिताको आतिथ्य गर्ने अवसर पाएको छ । यसले कर्णालीलाई राष्ट्रिय खेलकुदको केन्द्रमा ल्याउनुका साथै प्रदेशको खेलकुद विकास, पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारको सम्भावनासमेत खोल्ने अपेक्षा गरिएको छ ।




























