जेन्सन पदबाट बाहिरिएपछि उक्त कम्पनीको भविष्यका बारेमा अनेक अड्कलबाजी चलिरहेका बेला उनलाई पदमा फर्काउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन नै लागेको थियो ।
ट्रम्प प्रशासनकै मध्यस्थताका कारण जेन्सन पुन: एनभिडियाको सीईओ पदमा फर्किन सम्भव भयो । जसको स्वीकारोक्ति स्वयं अमेरिकी राष्ट्रपति ट्रम्पले नै गरिसकेका छन् ।
यसैबीच अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र पेन्टागनका वरिष्ठ अधिकारीसहितको टोलीले जेन्सनलाई एनभिडियाको सीईओमा फर्काउन युद्धकालीन कानुन प्रयोग गर्ने प्रस्ताव अघि सारेको समाचार बाहिरिएको छ ।
वासिङ्टन पोस्टको एक समाचारअनुसार, हेगसेथ र उनका सहायक स्टिभ फिनबर्गले उच्चस्तरीय छलफलमा एनभिडियामाथि रक्षा उत्पादन ऐन (डीपीए) प्रयोग गर्ने विषयमा छलफल गरेका थिए ।
डीपीएलाई अमेरिकाको युद्धकालीन कानुन मानिन्छ । जुन शीतयुद्धकालमा निर्माण गरिएको थियो ।
समाचारअनुसार उक्त विषयबारे जानकार तीन व्यक्तिले पेन्टागनका अधिकारीहरूले जेन्सेनलाई सीईओ पदमा पुनर्स्थापित गर्न एनभिडियाको सञ्चालक समितिमाथि दबाब दिएका थिए ।
चीनसँगको बढ्दो कृत्रिम बुद्धिमत्ता (एआई) प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रिय सुरक्षाका लागि जेन्सनको फिर्ती महत्त्वपूर्ण रहेको ट्रम्प प्रशासनको तर्क थियो ।
जेन्सनलाई फिर्ता ल्याउन युद्धकालीन कानुन !
एनभिडियालाई मुख्यतया आफ्ना व्यावसायिक योजना र नाफामा ध्यानकेन्द्रित गर्नुको सट्टा सैन्य आवश्यकतालाई बढी प्राथमिकता दिन बाध्य पार्न शीतयुद्धकालीन कानुन प्रयोग गर्नसक्ने ट्रम्प प्रशासनका एक अधिकारीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।
‘मूलत: उनीहरूले एनभिडियालाई आफ्नो उत्पादनको ठुलो हिस्सा सैन्य परियोजनाहरूमा सार्न बाध्य पार्न डीपीए प्रयोग गर्नसक्थे,’ ती अधिकारीले भनेका छन् ।
उक्त समाचारले ट्रम्प टोलीले अमेरिकी प्राविधिक र सैन्य अग्रताका लागि एनभिडिया र यसको नेतृत्वलाई कति रणनीतिक रूपमा महत्त्वपूर्ण ठानेको थियो भन्ने हद देखाएको उल्लेख गरेको छ ।
साथै एक निजी कम्पनीको निर्णयलाई आकार दिन सरकार कतिसम्म जान इच्छुक थियो भन्ने पनि यसले प्रतिबिम्बित गरेको छ ।
यद्यपि एनभिडियालाई के भनिएको थियो वा ती तर्क ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससम्म पुगेका थिए वा थिएनन् भन्ने कुरा अस्पष्ट छ ।
जेन्सनलाई पदमा फर्काउन ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई मध्यस्थता गर्न नै आग्रह गरेका थिए ।
पेन्टागनले के भन्यो ?
पेन्टागनले प्रतिवेदनको उक्त समाचारमा आएको विषयलाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।
‘युद्ध विभाग (डीओडब्ल्यू) का वरिष्ठ नेताहरूबीच भएका यी संवादहरू कहिल्यै भएका थिएनन् । र मन्त्री, उपमन्त्री वा सहायक मन्त्रीद्वारा त्यस्तो कुनै प्रस्ताव गरिएको थिएन,’ युद्ध विभागका एक अधिकारीले भनेका छन् ।
ह्वाइट हाउस र एनभिडियाले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
रक्षा उत्पादन ऐन (डीपीए) के हो ?
सन् १९५० मा जारी गरिएको रक्षा उत्पादन ऐनले अमेरिकी सरकार वा राष्ट्रपतिलाई विशेषगरी युद्धकाल वा राष्ट्रिय आपत्कालका समयमा राष्ट्रिय रक्षाका लागि घरेलु उत्पादनलाई प्राथमिकता दिन व्यापक अधिकार प्रदान गर्छ ।
अमेरिकी उद्योगहरूले महत्त्वपूर्ण सरकारी आवश्यकताहरूलाई प्राथमिकता दिऊन् भनी सुनिश्चित गर्न यो युद्धकालीन कानुन यसअघि पनि प्रयोग गरिएको छ ।
उदाहरणका लागि कोभिड–१९ महामारीका समयमा पहिलो ट्रम्प प्रशासनले जनरल मोटर्सलाई भेन्टिलेटर निर्माण गर्न दबाब दिन यसको प्रयोग गरेको थियो ।
यो कानुनले राष्ट्रिय आपत्कालका समयमा अर्थतन्त्रमा हस्तक्षेप गर्न अमेरिकी राष्ट्रपतिलाई व्यापक अधिकार दिन्छ । निजी कम्पनीहरूले सरकारी आदेश र राष्ट्रिय सुरक्षाका लागि आवश्यक वस्तुहरूको उत्पादनलाई प्राथमिकता दिऊन् भनी सुनिश्चित गर्न यसको प्रयोग गरिँदै आएको छ ।





























