काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्राविधिक प्रमुख तथा करार इन्जिनियर प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
निर्माण व्यवसायीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा आयोगले शुक्रबार विशेष अदालत, काठमाडौँमा चौधरीविरुद्ध आरोप पत्र दायर गरेको हो ।
नगरपालिकाबाट सञ्चालित सडक निर्माणको काम सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गराउने क्रममा चौधरीले विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख तथा हैरानी दिँदै घुस मागेको आयोगको अनुसन्धानबाट खुलेको छ ।
आयोगका अनुसार चौधरीले निर्माण व्यवसायीसँग रकमको मोलमोलाइ गरी चेकमार्फत ५० हजार रुपैयाँ र फोनपे मार्फत बैंक खातामा एक लाख रुपैयाँ लिएका थिए ।
निर्माण व्यवसायीसँग अनुचित लेनदेन गरेको, ह्वाट्सएपमा कुराकानी भएको तथा मोबाइल बैंकिङमार्फत रकम पठाएको प्रमाण रहेको व्यहोरासहित परेको उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानबाट चौधरीले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी सेवाग्राहीबाट घुस लिएको पुष्टि भएको आयोगको दाबी छ ।
आयोगले चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सम्बन्धित कानुनी प्रावधानअनुसार कैद र बिगोबमोजिम जरिबाना सजायको मागदाबी गरेको आयोगका सहायक प्रवक्ता पर्वत गिरीले जानकारी दिएका छन् ।





























