गाजामा इजरायली हवाई आक्रमणमा हमासका सुरक्षा अधिकारीसहित परिवारका चार जनाको मृत्यु

गाजा । गाजा सहरमा इजरायलले गरेको हवाई आक्रमणमा हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा सेवाका एक वरिष्ठ अधिकारीसहित उनकी पत्नी र दुई छोरीको मृत्यु भएको छ । बुधवार बिहान गाजा सहरको पश्चिममा रहेको अल–शाती शरणार्थी शिविरस्थित एक अपार्टमेन्टलाई लक्षित गरी इजरायली ड्रोनले क्षेप्यास्त्र प्रहार गरेको प्यालेस्टिनी तथा स्वास्थ्य स्रोतले जनाएका छन् । आक्रमणपछि अपार्टमेन्टमा आगलागी भएको थियो । स्वास्थ्य स्रोतका अनुसार घटनामा चार जनाको मृत्यु भएको छ ।

उनीहरूको शव गाजा शहरस्थित अल–शिफा मेडिकल कम्प्लेक्समा पुर्‍याइएको थियो । हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयले मृतकहरूको पहिचान सार्वजनिक गर्दै ४७ वर्षीय कर्णेल मोहम्मद अबु अल–औफ, उनकी ४१ वर्षीया पत्नी नुरा अबु अल–औफ तथा १५ र १३ वर्षीया दुई छोरीको मृत्यु भएको जनाएको छ । मोहम्मद अबु अल–औफ उत्तरी गाजा प्रान्तको आन्तरिक सुरक्षा सेवाका निर्देशक थिए । हमासद्वारा सञ्चालित मन्त्रालयले आक्रमणलाई सर्वसाधारणविरुद्धको ‘जघन्य अपराध र नरसंहार’ भन्दै निन्दा गरेको छ ।

गाजाको सुरक्षा संयन्त्र कमजोर पार्ने र प्यालेस्टिनी समाजमा अराजकता फैलाउने प्रयासस्वरूप आक्रमण गरिएको उसको आरोप छ । यस घटनाबारे इजरायली सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । गाजा सहरको पश्चिमी क्षेत्रमा हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा सेवाका प्रमुख नइम अबु नाहाल पनि इजरायली हवाई आक्रमणमा मारिएको एक दिनपछि पछिल्लो घटना भएको हो ।