सुकुमवासीलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित नगर्न कुलमानको आग्रह

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित नगर्न सरकारसँग आग्रह गरेका छन् ।

काठमाडौं उपत्यकाका नदी किनारबाट उचित वैकल्पिक व्यवस्था नगरी विस्थापित गरिएका सुकुमवासी परिवारलाई हाल आश्रय दिइएको भक्तपुरको मध्यपुर थिमी–बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र खाली गर्न निर्देशन दिइएको सन्दर्भमा घिसिङले सो आग्रह गरेका हुन् ।

जाडोको मौसममा सुरक्षित आवासको सुनिश्चितताबिना पुन: विस्थापित गर्नु उचित नहुने उनको धारणा छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिहरूको अवस्थालाई संवेदनशीलतापूर्वक विचार गर्नुपर्ने उनको भनाइ छ ।

भूमिहीन तथा सुकुमवासी समस्याको समाधान विस्थापन मात्र नभई उचित पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापना भएको घिसिङले उल्लेख गरेका छन् ।

उनले वैकल्पिक आवासको व्यवस्था नहुन्जेल आश्रयस्थल खाली गराउने निर्णय स्थगित गर्न, प्रभावित परिवारका आधारभूत आवश्यकताको सुनिश्चितता गर्न तथा दीर्घकालीन र न्यायपूर्ण समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।

नागरिकलाई सुरक्षित आवास र सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको घिसिङले बताएका छन् ।