काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले बाह्रखरी कथा प्रतियोगिताले नेपाली साहित्यको विकास, विस्तार र गुणस्तरीय सिर्जनालाई प्रोत्साहन गर्ने बताएका छन् ।
आठौँ बाह्रखरी कथा प्रतियोगिताको विजेता घोषणा तथा ‘उत्कृष्ट कथा २०८३’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले प्रतियोगिताले नेपाली भाषा, साहित्य र विशेषगरी कथा साहित्यको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे ।
साहित्य र कला देशको अमूल्य सम्पत्ति भएको भन्दै उनले यसले देशको पहिचान, समाजको चरित्र र नागरिकका भावना अभिव्यक्त गर्ने बताए । “समाजले भोगेका सुख–दुःख, संघर्ष, अभाव, विकृति, विसंगति र परिवर्तनका आकांक्षालाई बुझ्ने सबैभन्दा सशक्त माध्यम साहित्य हो,” सभामुख अर्यालले भने, “कुनै सहरलाई माथिबाट हेर्दा त्यसको समग्र स्वरूप देखिएझैँ साहित्यको अध्ययनबाट समाजको वास्तविक अवस्था र चरित्र बुझ्न सकिन्छ ।”
बाह्रखरी कथा प्रतियोगितामा सहभागी कथाहरूले नेपाली समाजका गरिबी, अशिक्षा, अभाव, विभेद र विसंगतिलाई उजागर गर्दै आम नागरिकका आवाजलाई अभिव्यक्ति दिएको उनले बताएका छन् ।
“प्राकृतिक विपद्, सामाजिक चुनौती र समसामयिक घटनाहरू पनि साहित्यका महत्वपूर्ण विषय हुन् । यस्ता सिर्जनाले समाजलाई मात्र होइन, नीति निर्माण र नेतृत्व तहलाई समेत जनताको वास्तविक अवस्था बुझ्न सहयोग पुर्याउँछन्,” उनले अगाडि थपे, “आज विमोचन भएको ‘बाह्रखरी उत्कृष्ट कथा २०८३’ पुस्तक अध्ययन गर्ने मेरो विशेष रुचि रहनेछ ।”
आफू साहित्यमा गहिरिएर लागेको व्यक्ति नभए पनि साहित्यप्रतिको अनुराग र सम्मान सधैँ रहिआएको सभामुख अर्यालले स्पष्ट पारे ।
आठौँ बाह्रखरी कथा प्रतियोगिताको उत्कृष्ट २५ मा पर्न सफल कथाकारहरूले नेपाली कथा साहित्यको उन्नयनमा कलम निरन्तर चलिरहने उनको विश्वास छ ।





























