काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पहिलोपटक सातै प्रदेशमा दीक्षान्त समारोह आयोजना गर्ने तयारी गरेको छ । तर, विद्यार्थीको आकर्षण भने काठमाडौंमै केन्द्रित रहेको देखिन्छ ।
प्रदेशगत रूपमा समारोह आयोजना गर्दा उपत्यकाबाहिरका विद्यार्थीलाई सहज हुने त्रिविको अपेक्षाविपरीत आवेदन दिने अधिकांश विद्यार्थीले वाग्मती प्रदेश रोजेका छन् ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार, सातै प्रदेशमा आयोजना हुने दीक्षान्त समारोहमा सहभागी हुन २१ हजार २७४ विद्यार्थीले आवेदन दिएका छन् । तीमध्ये १४ हजार ६९१ जनाले वाग्मती प्रदेशमा हुने समारोहमा सहभागी हुने इच्छा देखाएका छन् । यो कुल आवेदनको करिब ६९ प्रतिशत हो ।
त्रिविले यसअघि काठमाडौंमा मात्रै दीक्षान्त समारोह आयोजना गर्दै आएको थियो । उपत्यकाबाहिरका क्याम्पसमा अध्ययन गरेका विद्यार्थीलाई काठमाडौं आएर समारोहमा सहभागी हुन असुविधा हुने गुनासो बढेपछि यसपटकदेखि प्रदेशगत रूपमा दीक्षान्त समारोह आयोजना गर्ने निर्णय गरिएको थियो । सोहीअनुसार विद्यार्थीलाई अनलाइन आवेदन दिँदा आफू सहभागी हुन चाहेको प्रदेश छनोट गर्ने व्यवस्था मिलाइएको थियो ।
तर, आवेदनको तथ्यांकले विद्यार्थीको रोजाइ अझै काठमाडौंमै रहेको देखाएको छ । वाग्मतीपछि सबैभन्दा धेरै गण्डकी प्रदेशबाट दुई हजार २१५ र कोसी प्रदेशबाट दुई हजार १० जनाले आवेदन दिएका छन् । लुम्बिनी प्रदेशमा हुने समारोहमा सहभागी हुन एक हजार ५१५ जनाले आवेदन दिएका छन् ।
त्यस्तै, मधेस प्रदेशका लागि ३६४, सुदूरपश्चिमका लागि २८१ र कर्णाली प्रदेशका लागि १५९ जनाले मात्रै आवेदन दिएका छन् । सात प्रदेशमध्ये सबैभन्दा कम आवेदन कर्णालीबाट परेको छ ।
त्रिवि परीक्षा प्रशासन महाशाखा प्रमुख भोला सिग्देलले वाग्मती प्रदेशमा सहभागी हुन चाहने विद्यार्थीको संख्या सबैभन्दा धेरै रहेको जानकारी दिए । उनका अनुसार, प्रदेशगत रूपमा दीक्षान्त समारोह आयोजना गर्ने निर्णय भए पनि विद्यार्थीको रोजाइमा काठमाडौं नै परेको छ ।
“विद्यार्थीको आवेदन कम भए पनि यसपटक सातै प्रदेशमा दीक्षान्त समारोह आयोजना हुन्छ । संख्या के कति भन्ने हुन्न,” सिग्देलले भने ।
यसपटकको दीक्षान्त समारोहका लागि त्रिविले करिब ९५ हजार विद्यार्थीको ग्रेसलिस्ट तयार गरेको थियो । २०८२ असार १ देखि २०८३ जेठ ३१ सम्म स्नातक, स्नातकोत्तर तथा एमफिल उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र सोही अवधिमा विद्यावारिधि पूरा गरेका विद्यार्थी दीक्षान्तका लागि योग्य छन् । उनीहरूलाई असोज १ देखि कात्तिक १२ गतेसम्म अनलाइन आवेदन दिन समय दिइएको थियो ।
दीक्षान्तमा उपस्थित नभए पनि उपाधि के हुन्छ ?
त्रिविका अनुसार, दीक्षान्त समारोहमा सहभागी हुनु गाउन, स्काफ र टोपी लगाएर तस्बिर खिच्नु मात्रै होइन, उपाधि प्रदान गर्ने औपचारिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा हो । तर, समारोहमा उपस्थित हुन नसक्दैमा विद्यार्थीले उपाधि वा आधिकारिक प्रमाणपत्रबाट वञ्चित हुनुपर्ने अवस्था भने छैन ।
त्रिविका प्रवक्ता नवीन्द्र भण्डारीले दीक्षान्त समारोहमा सम्बन्धित संकाय वा संस्थानका डिनले उपाधिका लागि योग्य विद्यार्थीलाई कुलपतिसमक्ष प्रस्तुत गर्ने बताए । डिनको सिफारिसपछि कुलपतिबाट स्वीकृति प्राप्त भएपछि विद्यार्थीलाई उपाधिका लागि योग्य भएको औपचारिक मान्यता दिइन्छ ।
“दीक्षान्त समारोहमा सहभागी हुनु भनेको गाउन लगाउनु मात्रै होइन । निश्चित समयभित्र उपाधि प्राप्त गर्न योग्य भएका विद्यार्थीलाई सम्बन्धित फ्याकल्टी वा इन्ष्टिच्युटका डिनले कुलपतिसमक्ष प्रस्तुत गर्नुहुन्छ । कुलपतिबाट स्वीकृति भएपछि उनीहरू उपाधिका लागि योग्य भएको औपचारिक मान्यता पाउँछन्,” भण्डारीले भने ।
तर, समारोहमा उपस्थित हुन नसक्ने विद्यार्थीको उपाधि भने रोकिने छैन । उनीहरूलाई पनि उपाधिका लागि योग्य भएको घोषणा गरिनेछ । र, पछि आवश्यक प्रक्रिया पूरा गरेर प्रमाणपत्र लिन सकिने भण्डारीले बताए ।
दीक्षान्तमा सहभागी भएपछि मात्रै आधिकारिक वा मूल प्रमाणपत्र पाइन्छ भन्ने बुझाइ पनि गलत रहेको उनको भनाइ छ । समारोहमा सहभागी हुने विद्यार्थीले त्यहीँ प्रमाणपत्र प्राप्त गर्न सक्छन् । अनुपस्थित विद्यार्थीले पछि आवेदन दिएर प्रमाणपत्र लिन सक्छन् ।
आवेदन दिएको करिब पाँच दिनभित्र प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था रहेको उनले जानकारी दिए । यसअघि अघिल्लो वर्ष त्रिविको ग्रेसलिस्टमा करिब ८९ हजार विद्यार्थी समेटिएका थिए । यस वर्ष उक्त संख्या बढेर करिब ९५ हजार पुगेको छ ।
तर, योग्य विद्यार्थीको संख्याको तुलनामा अहिलेसम्म आवेदन दिने विद्यार्थीको संख्या निकै कम छ । यसले प्रदेशगत रूपमा दीक्षान्त आयोजना गर्ने त्रिविको नयाँ अभ्यासप्रति विद्यार्थीको वास्तविक आकर्षण कति बढ्छ भन्ने प्रश्न पनि उब्जाएको छ ।





























