अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन

काठमाडौँ । सरकारले अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

बिहीवार त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिए ।

उनले सम्पर्कमा नआएका र प्रक्रियामा सहयोग नगरेका प्राध्यापकको हकमा भने थप कारबाहीका लागि केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) तथा सम्बन्धित निकायमा लेखी पठाउन समेत निर्देशन दिए। उनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई समेत प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिए ।

उनले भने,‘ त्रिभुवन विश्वविद्यालय भित्रको अतिक्रमित जति पनि जग्गाहरू छन् त्यो जग्गाहरूलाई एकदमै प्राथमिकतामा राखेर त्यसको काम कारबाही अगाडि बढाउनको लागि अनुरोध गर्दछु । र अध्ययन बिदाको दुरुपयोग गरेर विश्वविद्यालय फर्किनु नभएका प्राध्यापकहरू अथवा सम्पर्कमा नहुनुभएका प्राध्यापकहरूको जुन हामीले चाहिँ रिकभर गरेका छौँ, उहाँहरूको भत्ता, त्यसलाई पनि तीव्रता दिई अहिले हाम्रो यता एजेण्डामा देखियो । जरिवाना तिराउने जसले त्यो दुरुपयोग गर्नुभएको छ भन्ने विषयमा तर जो सम्पर्कमै आउनुभएको छैन, जसले चाहिँ यो प्रक्रियामा सहयोग गर्नुभएको छैन उहाँहरूलाई पनि थप कारबाहीको लागि सीआईबी तथा सम्बन्धी निकायमा चाहिँ लेखी पठाउने एउटा प्रतिवेदन तयार गरेर त्यो लेखी पठाउन पनि म अनुरोध गर्दछु । र त्यसको समय सीमा पनि तोकौँ । त्यसको लागि १ महिनाको समय सीमाभित्र जो सम्पर्कमा आउनु हुँदैन । उहाँहरूको लागि चाहिँ प्रतिवेदन तयार गरेर त्यसलाई चाहिँ सीआईबी अथवा अन्य सम्बन्धित निकायमा पठाउन लागि पनि अनुरोध गर्दछु ।’

मन्त्री पोखरेलले अध्ययन बिदाको दुरुपयोग गरेका प्राध्यापक एक महिनाको समयसीमाभित्र सम्पर्कमा नआए थप कारबाहीका लागि प्रतिवेदनसहित सिआईबीमा पठाउन निर्देशन दिए।