चितवन ।ठेकेदारको ढिलासुस्तीका कारण एक वर्षदेखि रोकिएको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण कार्य पुनः सुरु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँ लागतमा ३ वर्षभित्र सम्पन्न गर्ने गरी २०७९ चैत ६ गते कोशी-क्षमादेवी-प्रतिष्ठा जेभीसँग सम्झौता गरेको थियो। निर्धारित समयमा ४० प्रतिशत पनि काम हुन नसकेपछि बिना कुनै अतिरिक्त सुविधा २०८२ चैतसम्मका लागि १ वर्ष म्याद थप गरिएको छ। २०७९ चैत १६ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गर्नुभएको यो ८ हजार वर्गमिटरको दुईतले भवनमा ८ तले कन्ट्रोल टावर, लिफ्ट, स्केलेटर, एसी र आगलागी पूर्वसूचना प्रणाली रहनेछ। नयाँ टर्मिनल बनेपछि पिक आवरमा एकैपटक १ हजार यात्रुले सेवा पाउनेछन्।
६२ वर्ष पुरानो जीर्ण र साँघुरो भवनलाई विस्थापित गर्दै धावनमार्ग (रनवे) विस्तार गर्ने उद्देश्यले नयाँ टर्मिनल हालको भवनभन्दा २०० मिटर पश्चिम बनाउन लागिएको हो। हाल १२ सय मिटर रहेको धावनमार्गलाई १५ सय मिटर पुर्याएर ठूला जहाज र रात्रिकालीन उडान सञ्चालन गर्ने लक्ष्य राखिएको छ। यसका लागि २०८० माघ १८ को मन्त्रिपरिषद् निर्णयअनुसार नेपाली सेनाको घोडा प्रजनन केन्द्रको १९ बिघा जग्गा लिने र प्रजनन केन्द्र शक्तिखोर सार्ने प्रक्रिया अघि बढाइएको छ। देशको मध्यभाग, तेस्रो पर्यटकीय गन्तव्य तथा मेडिकल सिटी भरतपुरमा उडान सहज बनाउन यो विस्तार अत्यावश्यक मानिएको छ। २०१७ सालदेखि सञ्चालित यो विमानस्थलमा पहिले विभिन्न एयरलाइन्सले काठमाडौँ, पोखरा र भैरहवा उडान भरे पनि हाल बुद्ध एयरले काठमाडौँका लागि मात्र नियमित उडान गर्दै आएको छ।































